धनगढी, २१ माघ । धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र थारु कल्याणकारिणी सभा कञ्चनपुरको सहकार्यमा माघ २२ गतेदेखि २६ सम्म प्रर्दशनी हुने भएको हो । धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको सभाहलमा हुने प्रर्दशनीबारे बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारी प्रर्दशनीबारे जानकारी गराएका हुन् ।
विभाग प्रमुख अधिकारीले प्रदर्शनीमा नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिक लगायत विविध विधा–उपविधागत कला प्रदर्शनी हुने बताए ।
थारु कल्याणकारिणी सभा कञ्चनपुरकी सभापति सानु चौधरीले विशेष गरि कलाको क्षेत्रलाई कलाको माध्यमबाट पहिचान स्थापित गर्न र कला प्रस्फुटन गर्नका लागि प्रदर्शनी हुन गइरहेको बताइन् । प्रदर्शनीले लोककला पुस्तान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास पनि व्यक्त गरिन् ।
ललितकला प्रदर्शनी विगत दुई वर्ष देखि प्रत्येक प्रदेशमा आयोजना हुँदै आएको र कलाकारलाई पनि समेट्दै आएको जानकारी दिएको छ ।