धनगढी, ५ फागुन । कैलालीको गौरीगंगामा ‘जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता यही फागुन ७ गतेदेखि सञ्चालन हुने भएको हो । आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
‘समृद्धिको आधार, फुटबलको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौं संस्करण हो ।
अध्यक्ष कलेलले मध्यवर्ती क्षेत्र राजमार्गमा रहेको त्यो ठाउँमा रहेको खेल मैदानलाई रङ्गशालाका रूपमा निर्माण गर्न र त्यहाँको खेल र खेलाडीको विकास होस् भन्ने उद्देश्य सहित दबाब दिन प्रतियोगिता सञ्चालन गर्दै आएको बताए ।
प्रतियोगिताले मध्यवर्ती क्षेत्रमा खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न अवसर पाउने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि खेलमैदान व्यवस्थित गर्ने काम सम्पन्न भएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउने छ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।