५ बैशाख २०८३, शनिबार April 18, 2026

भजनी क्षेत्रको विकासका लागि शिक्षाकोे विकास जरुरी

२३ माघ २०८१, बुधबार
भजनी क्षेत्रको विकासका लागि शिक्षाकोे विकास जरुरी

जोशीपुर, २३ माघ । कैलालीको भजनीमा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
भजनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगितालाई संघीय सांसद गंगाराम चौधरीले समुद्घाटन गरेका हुन् । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” मुल नारा रहेको खेलकुद प्रतियोगिता माघ २२ गतेदेखि २७ गतेसम्म महुन्याल माविको प्राङ्गणमा हुनेछ ।


भजनी नगरप्रमुख केवल चौधरीको सभापतित्वमा प्रतियोगिता समुद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथी एवं सांसद चौधरीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । उनले महुन्याल माविको विद्यार्थी आफु पनि भएको र आज संघीय सांसद भएर विद्यालयमा भईरहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समुद्घाटन गर्न पाउँदा गौरवान्वित भएको बताए ।
उनले भजनी क्षेत्रको विकासका लागि शिक्षाको विकास हुन जरुरी रहेको भन्दै शिक्षाको नीतिगत विकास गर्न स्थानिय सरकारले नीति सूधार गर्न आवश्यक रहेको बताए । उनले भने, “गत वर्ष भजनी नगरपालिकाका विद्यालयहरुको एसईई परिक्षाको नतिजा हेर्दा दुःख लागेको छ । भजनीको शैक्षिक नतिजाले चर्चा परिचर्चा पाएको थियो । यसले हामीलाई लज्जीत बनाएको छ । त्यसकारण अव एसईई परिक्षामा जिरो नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाबाट दिईने सेवा सुविधाबाट बञ्चित गराउनु पर्छ र राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्नू पर्छ ।”


सांसद चौधरीले मार्च पासमा एक जना विद्यार्थी कालिका आधारभूत विद्यालयको विद्यार्थीले लगाएको पोसाक देखेर दुखी बनाएको भन्दै विज्ञान जैसीलाई एक जोर स्कुल पोसाक उपलब्ध गराउनु भएको थियो ।
विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद आवश्यक रहेको भजनीका नगरप्रमुख केवल चौधरीले बताए । शिक्षकले विद्यार्थीको पढाईलाई मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि ध्यानदिनु पर्ने पनि उनले बताएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकिय अधिकृत नीलम कुमार न्यौपाने, राजनीतिक दलका राज बुढा र सुनिल कठरिया लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।