१० चैत्र २०८१, सोमबार March 24, 2025

‘जैविक विविधता संरक्षणमा चुनौती’

१६ फाल्गुन २०७९, मंगलवार
‘जैविक विविधता संरक्षणमा चुनौती’

कैलाली । कैलालीको कैलारी गाउँपालिका क्षेत्र भित्र रहेको बसन्ता जैविक मार्ग संरक्षणमा चुनौती रहेको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताएका छन् ।
मंगलबार हसुलियामा भएको राष्ट्रिय जैविक विविधता संरक्षण योजना तयारी सम्बन्धी स्थानीय तह र समुदायसंग परामर्श छलफल कार्यक्रममा उनले गाउँपालिका भित्र बाढी डुबान, कटान लगायतका समस्या रहेकोले जैविक मार्ग संरक्षणमा समस्या रहेको बताए ।
‘कैलारी गाउँपालिका जैविक विविधतामा एकदमै धनी रहेको छ, गाउँपालिका अन्र्तगत बसन्ता करिडोर पनि छ जुन बर्का बन्वाले चिनिने गर्दछ’, अध्यक्ष चौधरीले भने–‘तर हामीले जुनरुपमा संरक्षण गर्नुपर्ने हो, गर्न सकेका छैनौँ’, कारण गाउँपालिका भित्र बाढी पीडित, नदि कटान, पटान र डुबानको समस्या रहेकोे छ ।’
अध्यक्ष चौधरीले बसन्ता जैविक मार्ग संरक्षण गर्नले धेरै फाइदा हुने बताए । ‘जैविक मार्ग संरक्षणले हामीलाई नै फाइदा हुन्छ’, उनले भने–‘नजिकै रहेको भारतको दुधुवा नेशनल पार्कमा रहेको विविध प्रजातीका जीवजन्तु र चराचुरुङगी बसन्ता जैविक मार्ग भएरै ओहोरदोहोर गर्ने र यहाँ रहेका प्राकृतिक ताल तलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि आर्थिक लाभ लिन सकिन्छ ।’


यसै बिच कार्यक्रमका सहभागीहरुले वन क्षेत्र तथा जैविक विविधता संरक्षण नीति तथा कार्ययोजना निर्माण गर्दा जनसहभागितामूलक र स्थानीय समुदायको हक अधिकार सम्बोधन हुने गरि नीति तथा कार्ययोजना निर्माण गर्नुपर्ने सुझाएका छन् ।
जनस्तरमा चेतनाको कमी, वन अतिक्रमण, वन फडानी, प्राकृतिक स्रोतको अत्याधिक दोहन, राजनीतिक अस्थिरता, चोरी सिकारी, फितलो ऐन कानून, वातावरण प्रभाव मुल्यांकन बिनै हुने विकास लगायतले गर्दा जैविक विविधता संरक्षणमा चुनौती रहेको औँल्याउँदै उनीहरुले त्यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, आदिवासी जनजाति समुदायको सहभागिता, उपभोक्ता तथा स्थानीयलाई क्षमता अभिवृद्धिका तालिम, वन्यजन्य उत्पादनको अभिलेखीकरण, नागरिक समाजलाई जिम्मेवारी, विशेष प्रजातीको वनस्पति, पशुपंक्षीको संरक्षण, स्थानीय रैथाने प्रजाती संरक्षण सम्बद्र्धन तथा अभिलेखीकरण, स्थानीय समुदायको कला, साहित्य संस्कृति संरक्षणका लागि उत्प्रेरणा अभिवृद्धि लगायत जिम्मेवारी सहितको कार्ययोजना निर्माण गर्न सुझाएका थिए ।
कार्यक्रममा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र गेटा कैलालीका अधिकृत रामऔतार चौधरीले जैविक विविधता संरक्षण गर्न एकदमै आवश्यक रहेको बताए । उनले दिनप्रति दिन जैविक विविधता नासिदै जानुले मानव अस्तित्व नै संकटमा पर्न लागेको बताए ।
‘जैविक विविधता नासिदैँ जानुले मानव अस्तित्व नै संकटमा परेको छ, वनस्पति तथा वन्यजन्तुको बासस्थान सुरक्षित रहे पो हाम्रो अस्तित्व रहन्छ, हामी सुरक्षित रहन्छौँ जसले गर्दा जैविक विविधता संरक्षण आजको आवश्यकता नै हो’, उनले भने ।
डब्ल्यूडब्ल्यूएफका हेम आर्यालले जैविक विविधता संरक्षण योजना बारे जानकारी गराएका थिए ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय बसन्ताका प्रमुख श्याम सुन्दर माझीले स्वागत गरेका थिए । कार्यक्रममा जनप्रतिनीधी, समुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।