१० चैत्र २०८१, सोमबार March 24, 2025

केन्द्रको राजनीतिक समीकरणले जोगियो सुदूरपश्चिममा कांग्रेस सरकार

१३ फाल्गुन २०७९, शनिबार
केन्द्रको राजनीतिक समीकरणले जोगियो सुदूरपश्चिममा कांग्रेस सरकार

कैलाली। सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार जोगिने निश्चित भएको छ ।केन्द्रमा शुक्रबार बनेको नयाँ राजनीतिक समीकरणका कारण कमल बहादुर शाहको सरकार जोगिने निश्चित भएको हो । नयाँ आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन्।

सो अनुसार प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको आधा महिना बितिसक्दा विश्वासको मत पाउने आधार नपाइरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले अन्ततः विश्वासको मत पाउने भएका छन्। शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णय गरेसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठ दलीय गठबन्धन बनेको छ । तर, एमाले र माओवादीको गठबन्धनका कारण विश्वासको मत नपाउने विश्लेषण भइरहेका बेला अन्ततः मुख्यमन्त्री शाह सुरक्षित भएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको दिन देखी ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । माघ २६ मा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय समीकरणमा कांग्रेस बाहिर रहेपनि संविधानको धारा १६८ को ३ अनुसार सुदूरपश्चिममा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले भने अहिलेसम्म विश्वासको मत दिने भन्ने निर्णय भने गरिसकेको छैन ।माओवादी नेताहरू केन्द्रबाटै उच्चस्तरीय तालमेल भएको हुँदा प्रदेशमा छुट्टै निर्णय नहुने बताएका छन् । केन्द्रमा माओवादी र कांग्रेस एकै ठाउँमा उभिएकाले सुदूरपश्चिममा पनि त्यहि अनुसार हुने माओवादी सांसद ओमविक्रम भाट सरलले बताए ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । आगामी २५ गते भित्रै उनको विश्वासको मत लिइसक्नु पर्नेछ। कांग्रेसले अब केही दिन भित्रै विश्वासको मत लिने तयारी भैरहेको प्रदेश महामन्त्री समेत रहेका कांग्रेस सांसद मेघराज खड्काले बताए। केन्द्रीय ८ दलीय गठबन्धन भएका कारण सुदूरपश्चिम प्रदेशमा कांग्रेस सरकार जोगिने निश्चित छ । ८ दल भित्र नागरिक उन्मुक्ति पार्टी पनि समावेश छ । यहाँ उन्मुक्तिका ७ सांसद छन् । ती सांसदले मत दिने वा नदिने निर्णय भने गरिसकेका छैनन् । उनीहरुको पनि मत पाए सुदूरपश्चिम प्रदेशका कांग्रेसको बलियो सरकार बन्ने देखिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । सुदूरपश्चिममा कांग्रेसका १९ र माओवादीका सभामुख सहित ११ सांसद छन्। यी दुई दल मात्रै मिल्दा पनि उहाँ कांग्रेसको सरकार जोगिने बताइएको छ ।