७ फाल्गुन २०८१, बुधबार February 19, 2025

धनगढीको छ लेन सडक झिलिमिली

१० फाल्गुन २०७९, बुधबार
धनगढीको छ लेन सडक झिलिमिली

धनगढी । धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्ड झिलिमिली भएको छ ।
बुधबार साँझदेखि स्मार्ट लाइट बलेपछि उक्त सडक खण्ड झिलीमिली भएको हो । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले स्मार्ट लाइटको उद्घाटन गरेका हुन् ।
बत्ती जडानको पहिलो चरणको कार्य पुरा भएपछि स्मार्ट लाइटको उद्घाटन गरिएको धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हमालले नगरको १९ वटै वडालाई उज्यालो बनाउने बताए । उनले सडक बत्ती भएपछि दुर्घटना न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।


धनगढीमा ३ चरणमा बत्ती जडानको कार्य हुँदैछ । पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरणको ४० र धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लागत साझेदारीमा काम भएको छ । पहिलो चरण अन्तरगत धनगढी चौराहदेखि मोहनपुर (एयरपोर्ट गेट) सम्म स्मार्ट बत्ती जडान गरिएको छ ।
यस चरणमा करिब ४३२ वटा बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच लगानी साझेदारी रहेको छ । जसको लागि २ करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो ।


सडकको २८ मिटरको दुरीमा जडान गरिएको छ । २१६ पोलमा ४३२ वटा बत्ती जडान गरिएको हो । ती बत्तीहरूमा बिहान भएपछि निभ्ने र राति भएपछि आफै बल्ने सेन्सर समेत जडान गरिएको सूर्योदय ऊर्जा प्रालिका इन्जिनीयर रविन महतोले जानकारी दिए ।
दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले आफ्नो एकल लगानीमा बढी प्रकाश दिने हाईमास्ट लाइट जडान गर्ने भएको छ । जस अन्तरगत १० वटा बत्ती १६ फिट अग्लो पोलमा जडान हुने मेयर हमालले जनाए । जसको लागि टेण्डर भइसकेको उनको भनाइ छ ।
तेस्रो चरणमा कैलाली भन्सारदेखि चौराहासम्म र धनगढी उपमहानगरको क्षेत्र पर्ने गेटा क्षेत्रतिर बत्ती जडान गरिने भएको छ । बत्ती जडानपछि रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण हुने आशा लिइएको छ ।
धनगढी उप–महानगरपालिका र नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजनाको संयुक्त लागत सहभागीतामा धनगढी चौराहादेखि गेटासम्म छ लेन सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।