धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच वर्ष चल्ने बताएका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाट गर्दै शाहले सो कुरा बताएका हु्न् । उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए ।
प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका छन् । विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको उनले बताए ।
‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ’ उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ ।’
उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचनमा पनि नजाने बताए । प्रदेश मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले नचाहेको हुदाँ प्रदेश फेरि पनि चुनावमा गए जनताले लखेट्ने उनले बताए । उनले निर्वाचन सम्पन भएको धेरै समय भएको छैन त्यहि कारण कसैले पनि चुनाव नचाहेको बताए ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।