कैलाली । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उलंघन र ज्यादतीका घटना बढ्दै गएको पाइएको छ ।
इन्सेकले सुदूरपश्चिम प्रदेशमा गरेको अभिलेख अनुसार मानव अधिकार उलंघन र ज्यादतीका घटनाहरु बढ्दै गएको पाइएको हो । इन्सेकले सुदूरपश्चिम प्रदेशमा गरेको अभिलेख अनुसार २०२२ मा मानव अधिकार उलंघन र ज्यादतीका १ हजार १८६ घटना मध्ये १ हजार १९२ जना पीडित भएको पाइएको छ । इन्सेकले सन् २०२२ को मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
उक्त तथ्यांक अनुसार मानव अधिकार उलंघनका १५ घटनामा १ महिला र १४ जना पुरुष सहित १५ जना तथा ज्यादतीका १ हजार १७१ घटना मध्ये १ हजार ७९ महिला र ९८ पुरुष सहित १ हजार १७७ जना पीडित भएको इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले जानकारी दिए । उनका अनुसार उक्त घटना गत वर्ष भन्दा ५९७ जनाले बढी हो ।
इन्सेककै अभिलेख अनुसार यस वर्ष राज्य पक्षबाट एक जनाको हत्या, एक जना कुटपिट, गिरफ्तारीका घटनामा १० जना, महिला अधिकार उलंघनका घटनामा एक जना र जेलमा मुत्यु घटनामा दुइजना पीडित रहेको उल्लेख गरेको छ ।
त्यस्तै गैर राज्यबाट हत्याका घटनामा २९ जना, घाइते ३५ जना, बाल अधिकारका १०१, जातीय विभेदका ५, महिला अधिकारका ९५५, अमानवीय व्यवहारका ६, कुटपिटका ४४ र धम्कीका घटनामा दुई जना पीडित भएको अभिलेख रहेको छ ।
सन् २०२२ मा अभिलेख गरिएको महिला माथि हुने हिंसाका घटनामा ९५६ जना पीडित भएका छन् । घरेलु हिंसाका घटनामा ८ हजार ७६, बलात्कारका घटनामा ५८, बलात्कारका प्रयास ८, यौन दुव्र्यवहार दुई, बहुविवाह १०, प्रसुति सेवा घटना र बोक्सीका घटना १÷१ जना पीडित भएको अभिलेख रहेको छ ।
प्रदेश संयोजक जोशीले फितलो कानुन र भएको कानुन पनि कार्यान्वयन नहुनाले महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको बताए । साथै उनले यस्ता घटनाहरु न्यूनीकरणका भएका कानुन कार्यान्वयन र नागरिकहरुलाई सचेतीकरण गर्न आवश्यक रहेको बताए ।