९ चैत्र २०८१, आईतवार March 23, 2025

सांसद अरुण चौधरी रिहा

७ फाल्गुन २०७९, आईतवार
सांसद अरुण चौधरी रिहा

कैलाली । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन । उनीसहित कैलालीबाट चार जना रिहा भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए । 
थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।
यसैबीच पक्राउ परे लगत्तै प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका चौधरीको पुनः प्रतिनिधि सभा सदस्यको पद ब्युँतिन्छ कि, ब्युँतिन्न भन्ने सवाल खडा भएको छ ।
चौधरीका कानुन व्यवसायी समेत रहेका अधिवक्ता गम्भीर सिंह ऐरले रिहा लगत्तै उनी निर्वाध रुपमा सो पदमा बहाल हुने बताए । उच्च अदालत दिपायलमा सुनुवाइको प्रक्रियामा रहेको उनको मुद्दा स्वतः खारेज भएको अधिवक्ता ऐरको भनाइ छ ।
उनले आफूमाथि लागेको मुद्दा नै त्रुटिपूर्ण रहेको भन्दै बदरको माग गर्दै उच्च अदालत दिपायलमा रिट दायर गरेका थिए । तर उनको सजाय माफीपछि उनले आफूमाथि लागेको कसुर स्वीकार गरेको ठहरिएको छ । उनले जिल्ला अदालत कैलालीले सजायसहित ८ लाख १८ हजार ४२३ रुपैयाँ बिगोको तीन भागको एक भाग तिरिसकेकोले स्वीकार गरेको बताइएको छ ।