६ बैशाख २०८२, शनिबार April 19, 2025

दोधारा चाँदनी सुख्खा बन्दरगाह चाँडै सञ्चालनमा आउँछ : मन्त्री भण्डारी

२६ माघ २०७९, बिहीबार
दोधारा चाँदनी सुख्खा बन्दरगाह चाँडै सञ्चालनमा आउँछ : मन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनी सुख्खा बन्दरगाह चाँडै सञ्चालनमा ल्याउने बताएका छन् ।
बिहीबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री भण्डारीले कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह सञ्चालनका लागि कार्य अघि बढेको बताए । ३ वर्षमा सम्पन्न गर्ने गरि काम भइरहेको मन्त्री भण्डारीले दाबी गरे ।
सुख्खा बन्दरगाह सञ्चालनका लागि उनले आगामी फागुन १ गते प्रधानमन्त्रीको टोली कञ्चपुर आउने बताए । उनले बन्दरगाहका लागि भारतीय राजदूतसंग भेटेर पनि आवश्यक छलफल गरेको बताए । नेपाल र भारत विचको समझदारीमा बन्दरगाह निर्माण भई चाँडै नै सञ्चालनमा आउने उनले बताए ।
उनले भने–‘बन्दरगाह सञ्चालनका लागि आगामी फागुन १ गते प्रधानमन्त्रीको टोली अवलोकन गर्न कञ्चनपुर आइरहेको छ, बन्दरगाहका लागि भारतीय राजदुतसँग पनि भेटेको छु, ड्राइ पोर्टका लागि भारतीय पक्ष सकारात्मक रहेको छ ।’
बन्दरगाह सञ्चालनमा आएपछि यहाँका राजधानीसम्म छोटो दुरीबाट बस्तुहरुको आयात निर्यात गर्न सकिने पनि उनले विश्वास व्यक्त गरे ।
‘भारतको आद्योगिक क्षेत्रले चिनिने रुद्रपुर यहाँबाट छोटो दुरीमा रहेको छ । तर बन्दरगाह नरहेकोले अन्य नाकाबाट यहाँ समान पुग्ने गर्दछ’, उनले भने–‘महाकालीमा पुल बनिसकेको छ, सुख्खाबन्दर गाह सञ्चालनमा आएपछि राजधानीसम्म पनि छोटो दुरीबाट बस्तुहरुको आयात र निर्यात गर्न सहज हुन्छ ।’
दोधारा–चाँदनी सुख्खा बन्दरगाह तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । परियोजनाको पहिलो फेजको लागत ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ बराबर हुने जनाईएको छ ।
कञ्चनपुरको महाकाली पारी दोधारा–चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा बन्ने परियोजनाका लागि २८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भएको छ ।
वर्तमान सरकारले सार्वजनिक गरेको आफ्नो २१ बुँदे नीती तथा कार्यक्रममा पनि औद्योगिक क्षेत्रलाई विशेष प्राथमिकता राखेको उनले बताए । मन्त्री भण्डारीले निजी क्षेत्रबाट लगानी भएको औद्योगिक क्षेत्रको सुरक्षा र सहुलियतका लागि बाणिज्य नीतिलाई सुधार गर्ने बताए ।
कार्यक्रम सम्बोधनकै क्रममा मन्त्री भण्डारीले आद्योगिक क्षेत्रलाई प्रविधीसँग जोडेर अघि बढीरहेको बताए । उनले भने–‘कुनै उद्योग तपाइहरुले दर्ता गर्नु प¥र्यो भने उद्योगी र कार्यालय प्रमुखको भेट नैहुने छैन । अहिलेको अनलाइन सिस्टमबाट तपाईहको उद्योगबाटै काम गर्ने वातावरण हामीले सृजना गर्न लागेका छौँ ।’
मन्त्री भण्डारीले चीनसंग भएको पारबाहन सम्झौता, भारत सरकारसँग भएको व्यापार नीति र अन्य छिमेकी मुलुकसँग टे«ड नीति अझ समयानुकुल बनाएर अगाडी बढ्ने बताए ।
साथै उनले दैजी छेला औद्योगिक क्षेत्र, नौबस्ता, मोतिपुर, मयुरधाम लगायतका औद्योगिक क्षेत्रलाई पनि चाँडै कार्यान्वयनमा ल्याउने बताए । यसका साथै उनले हरैया सेजका लागि बहुवर्षिय ठेक्का प्रक्रियाबाट चाँडै अगाडी बढाउने बताए ।
कार्यक्रममा यहाँका उद्योगी व्यवायीहरुले औद्योगिक विकास तथा उद्योग सञ्चालन गर्दा आइ पर्ने चुनौती र समस्याका बारेमा मन्त्री भण्डारीलाई जानकारी गराएका थिए ।
कार्यक्रम कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको थियो ।