कैलाली । कैलालीको कैलारी गाउँपालिकाले स्थानीय स्तरमा स्वरोजगार बनाउन यहाँका युवालाई क्षमता विकासका तालिम दिएको छ ।
कैलारी गाउपालिकाको आर्थिक सहयोग तथा कैलाली एकीकृत उत्थान सञ्जाल (किरण) नेपालको आयोजनामा ‘क्षमता विकास तथा युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत मोटरसाइकल मर्मत र विद्युत जडान तालिम दिएको हो ।
मंगलबार तालिमको समापन गरिएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले तालिमको समापन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले गर्न सके गाउँघरमै रोजगारीको धेरै सम्भावना रहेको बताए ।
‘यहाँका युवाहरु आफ्नो गाउँठाउँ, घर खेत छाडेर विदेशमा रोजगारीका लागि जाने गर्दछन्’, अध्यक्ष चौधरीले भने–‘गर्न सके यहाँ धेरै सम्भावना रहेको छ । भारतीयहरु नेपाल आएर बालुवामा सुन फलाएर लाखौँ आम्दानी गरिरहेका हुन्छन् । तर यहाँ आफ्नै जग्गा बाँझो छाडेर विदेश जाने गर्दछन् । जसले अन्न उत्पादनमा पनि कमी आएको छ ।’
किरण नेपालका अध्यक्ष अमृतचन्द्र चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कैलारी गाउँपालिका नेपाली कांग्रेसका सभापति कृष्ण प्रसाद चौधरी विशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रमका अतिथीहरुमा वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता दिपेन्द्र बम, वडा नम्बर १ का वडाध्यक्ष धोज हरिपाल बोहरा, वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष किशन लाल चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष ठागु राम चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष बिष्णु प्रसाद चौधरी, वडा नम्बर ८ का वडाध्यक्ष तारामल कठरिया, किरण नेपालका संस्थापक सल्लाहकार धु्रब चन्द्र चौधरी, मनिराम बखरिया, हरिराम चौधरी लगायत रहेका थिए ।
कार्यक्रममा संस्थाका लोकेन्द्र बखरियाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकेश बखरियाले गरेका थिए ।