कैलाली । कैलालीबाट काठमाडौं जाँदै गरेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बिहीबार दिउँसो बाँकेबाट पक्राउ परेका छन् ।
सांसद चौधरीलाई आगजनीको मुद्दामा १० वर्षअघि अदालतले दोषी ठहर गरेको थियो । त्यही मुद्दामा अदालतको फैसला कार्यान्वयन गराउने क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
यो मुद्दामा भने थरुहट आन्दोलनसँग जोडिएको छ । २०६४ मा भएको पहिलो संविधान सभाको चुनावपछि झापादेखि कञ्चनपुरका थारू पहिचानको मुद्दा लिएर आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा कैलालीमा थरुहट आन्दोलनले चर्को रूप लिएको थियो ।
थरूहट आन्दोलनका प्रवक्ता माधव चौधरीका अनुसार, सांसद चौधरी त्यस ताका थरुहट तराई पार्टीका क्षेत्रीय अध्यक्ष थिए । “कैलालीको बलिया क्षेत्रमा आन्दोलनको नेतृत्व अरुणले गरेका थिए । आन्दोलनका क्रममै ट्र्याक्टरमा आगजनी भएको थियो,” प्रवक्ता चौधरी भने ।
थरुहट आन्दोलनका प्रवक्ता चौधरीका अनुसार, २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टरमा आगजनी भएको थियो । त्यो ट्र्याक्टर नेकपा (एमाले)का स्थानीय नेता महादेव बजगाईँको हो । उनी लम्की चुहा नगरपालिकाका पूर्व मेयर हुन् ।
बजगाईंले बलिया क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरेका चौधरी सहित तीन जना विरुद्ध उजुरी दिएका थिए । चौधरीसँगै परशुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि विपक्षी बनाइएको थियो ।
जिल्ला अदालतमा मुद्दा चले पनि उनी उपस्थित भएका थिएनन् । जिल्ला अदालत, कैलालीले २०७० वैशाख ९ गते तीनै जनालाई दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई ६–६ महिना कैदको फैसला सुनाएको थियो । यससँगै उनीहरूले जनही आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।
अदालतको फैसलापछि पनि तीनै जना फरार सूचीमा थिए । तर, बीरबहादुर चौधरीले भने केही समयअघि मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै अदालतमा निवेदन दिएका थिए । अदालतले उनको माग अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो । बीरबहादुर यहि माघ १३ गते पक्राउ परेका छन् ।
उनी पक्राउ परेसँगै सांसद चौधरीका विषयमा पनि टीका–टिप्पणी हुन थालेको थियो । त्यही क्रममा प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको हो । काठमाडौं जाँदै गर्दा माघ १९ गते दिउँसो बाँकेको कोहलपुरबाट सांसद चौधरीलाई पक्राउ गरिएको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूले जानकारी दिए ।
गत मंसीर ४ गते भएको निर्वाचनमा चौधरी कैलाली–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।