काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले दलहरुबीच सहमति जुटाएर अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी फागुन ६ गते संसद बैठकमा टेबुल गर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडुले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबीच थप छलफल आवश्यक परेकाले सहमति जुटाएर फागुन ६ गते पेश गर्ने बताएका हुन् ।
‘छलफलका निमित्त दलहरुका बीचमा केही समय चाहिन्छ भनेपछि दुई दिनमा थप सल्लाह र सहमति जुटाएर फागुन ६ गतेमा पेश गर्ने तयारी छ’ उनले भने ।
आजसम्म नजुटेको सहमति अब दुई दिनमा जुट्छ भन्ने के ग्यारेन्टी छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री बडुले भने, ‘हुनसक्छ । कहिलेकाहीँ एकै रातमा सहमति हुन्छ ।’
यता नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबीच सहमति नहुँदा नहुँदै अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता संसदमा टेबुल गर्न नहुने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने बताएका हुन् । ‘नमिलेका कुरामा जबर्जस्ती हुँदैन । कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’ नेता खनालले भने, ‘असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?’
उनले एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका विषय रहेकाले संशोधन नभएसम्म संसदबाट अनुमोदन हुन नसक्ने पनि बताए । ‘यो सम्झौताभित्र गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा छन् । त्यो कुरा नसच्चिकन ती कुरामा सुधार नभएसम्म एमसीसी पास हुन सक्दैन’ उनले भने ।
सत्तारुढ गठबन्धनमै रहेर सरकार संसदमा पेश गर्न लागेको प्रस्तावको विरोध गर्न हुन्छ भन्ने प्रश्नमा खनाल आक्रोशित देखिए । उनले भने ‘मज्जाले हुन्छ, कसले भन्यो हुँदैन भनेर मलाई सोध्नुस् । गठबन्धन पनि हुन्छ, सडकमा पनि हुन्छ, सदनमा पनि हुन्छ ।’