२१ मंसिर २०७९, बुधबार December 7, 2022

सीपले फेरियो सन्जयको जीवन

२८ माघ २०७८, शुक्रबार
सीपले फेरियो सन्जयको जीवन

राम अवतार चौधरी
कपिलवस्तु ।
मानिस जन्मदेखि मृत्यु सम्म अनेकौं अनुभव लिएको हुन्छ । अनुभवले जो कसैलाई जीवनयापनको मार्ग निर्देशन गर्ने गर्दछ । असल मार्ग निर्देशन हरेक मानव जीवनको लागि अपरिहार्य छ । फरक धार फरक विचार भएका जुनसुकै व्यक्तिले अनुभव लिएको हुन्छ तर फरक यति हो कसैलाई धेरै हुन्छ त कसैलाई थोरै । जसले मानव जातिको जीवन शैलीमा फरकपन ल्याउनुका साथै परिवेश लाभदायक वा प्रेरणादायिक बन्न मद्दत पुग्छ ।

मान्छे सजीव प्राणी मध्ये एक नितान्त चेतनशील प्राणी अन्तर्गत पर्दछ । जसले मानव जीवनमा नौलो कुराको अनुभव लिन उत्तिकै उत्सुकता जनाउँछ । सबेरै उठेदेखि नै आ–आफ्नो दैनिकी क्रियाकलापमा व्यस्त हुन्छ । कार्य बेस्तताले एकले अर्का आफ्न नजिकका छिमेकीलाई समेत चिन्न सक्ने अवस्थामा छैन अहिले । समय परिस्थिति अनुसार मानिस वा समाज परिवर्तन हुनु स्वाभाविक नै हो । मानव जाति आफ्नो दैनिकी वा जीवन चक्र चलायमान गराउन व्यवसायिक पेशा गर्नु अति उत्तम मानिन्छ ।

नेपालमा रोजगारी छैन् भन्दै प्रायः युवा खाडी मुलुक जाने योजना बनाउँछन् । तर गरे नेपालमै हुन्छ भन्ने कसैलाई लाग्दैन । विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने विरलै युवा भेट्टिन्छन् । लामो समयदेखि विदेश हुँदै स्वादेशमा समेत अरुले दिएको पीडा पन्छाएर आफ्नै व्यवसाय गरेर सफल भएका उदाहरण यहि नीर पाइन्छ । विगत केही वर्ष पहिले आफ्नै व्यवसाय गर्ने भन्दै कपिलवस्तुका २९ वर्षिय युवा सन्जय थारुले संग्रिला विकास बैंकबाट २५ लाख ऋण लिए । २०७६ जेठमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा प्रतिक्षा अटो ग्यारेजको नाममा उनले पसल सञ्चालन गरे ।

बुद्धभुमी नगरपालिका–४, गेलवार घर भएका उनी ४ वर्ष भारतमा गएर एक ग्यारेजमा कार बनाउन सिके । त्यहाँबाट तितामिठा अनुभवसँगै केही गोजी खर्च लिएर घर फर्किए उनी । मात्र केही समय घरमा बसे त्यसपछि लगत्तै थारु बुटवलमा पुनः ग्यारेजमै कार बनाउने कामको थाल्नी गरे । उनी करिब ५ बर्ष बुटवलमा रहेको कपिलवस्तु अटो लाइन्समा कार्यरत रहि चार पाङ्ग्रे सानो गाडीको इन्जिन बनाउन पोक्त नभए पनि अनुभवले धेरै नै खारिँदै गएका थिए ।

सोही क्रममा तिनलाई घर व्यवहारले च्याप्दैँ थियो । घरमा पारिवारिक समस्या बढनुको साथै जिम्मेवारी बढ्दै गएपछि २०७० सालमा छिमेकी गाउँ चङघाट घर भएकी पिंकी थारुसँग आमा बुवाको सहमतिमा वैवाहिक बन्धनमा बाँधिए सन्जय । विवाह पश्चात् लगत्तै जितपुर चार नम्बर अवस्थित उत्तम अटो वर्कशपमा करिब ३ बर्ष जति काम गरे । २०७३ सालमा फेरि चन्द्रौटाको बन्कट्टीमा रहेको अभी अटो भिलेजमा लगभग डेढ वर्ष कार्यरत भए उनी । यत्तिको स्थानमा काम गर्दा एकदमै कष्टकर जीवन नबिताए होलान् भन्ने त कल्पना नै रहेन ।

उनले रातदिन अरुका अधिनमा रहेर काम गरेको अनुभव सुनाउँदै अहिले आफ्नै ग्यारेज सञ्चालन गरेर आफै मालिक भएर काम गर्नुको आन्नद बैग्लै भएको ग्यारेज सञ्चालक थारु बताउँछन् । उनी हाल चार पाङ्ग्रे गाडी मध्ये कार मात्रै बनाउने गर्छन् । हाल सन्जयसँग उनका ग्यारेजमा ७ जना कामदार छन् । महंगो गाडीमा खुट्टामा धुलो समेत नलाग्ने उच्च लवाइ खवाई भएका नागरिकलाई सेवा गरेर निश्चित रकम पाउँछन् । शायद आफूले साढे तेह्र बर्ष सम्म लगनशील नभएको भए यहाँको स्थितिमा पुग्न सक्थेन्न । यसबाट अरुले पनि पाठ सिकन जरुरी छ भन्ने दर्शाउँछ । आफूलाई जुन क्रियाकलाप भित्री आत्माबाट मन पर्छ त्यसलाई निरन्तरता दिँदा पक्कै पनि सफलता मिल्छ ।

थारु भन्छन् ः “धेरै दुःख गरेर सीप सिकेँ अहिले मसँग सात जना कामदार छन्, अरुको काम गर्नु र आफै मालिक भएर काम गर्नुको अनुभुती नै बेग्लै छ । अब बिस्तारै बढाउने सोेंचमा छु ।“ उनका दुई सन्तान सहित घरमा ११ जना परिवार छन् । घरपाइ मिलेको छ । परिवारसँग बसेर पेशा गरेको देख्दा कति मानिसले तारिफ समेत गरिरहेका हुन्छन् । नगर्नु पनि कसरी ? अझै व्यवस्थित गरि स्थानीय युवाहरुलाई रोजगारी दिने योजना रहेको बताउँदै मासिक करिब साढे तीन लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए । आफूलाई सो पेशा गर्न घर परिवारले एकदमै राम्रो सहयोग गर्दै आएको जनाउँदै उक्त पेशा र आम्दानीले घरपरिवार लगायत दैनिकी कारोबार गर्न सहज हुनुको साथै सन्तुष्ट भएको समेत सञ्चालक थारुले जनाए ।