४ बैशाख २०८३, शुक्रबार April 17, 2026

हृदयनारायणलाई थारु साहित्य पुरस्कार, समीक्षालाई प्रतिभा महिला सशक्तिकरण पुरस्कार

१३ माघ २०८२, मंगलवार
हृदयनारायणलाई थारु साहित्य पुरस्कार, समीक्षालाई प्रतिभा महिला सशक्तिकरण पुरस्कार

धनगढी, १३ माघ । थारू भाषा साहित्यमा कलम चलाउने साहित्यकार तथा पत्रकार हृदयनारायण चौधरी थारूलाई ‘थारू साहित्य पुरस्कार २०८२’ बाट सम्मान गर्ने भएको छ ।
थारू लेखक संघ नेपाल कैलालीले साहित्यकार चौधरीलाई सम्मान गर्ने भएको हो । उनलाई यहि माघ १५ गतेदेखि १७ गतेसम्म पटेर्वा सुगौली गाउँपालिका–२, बेलवा पर्सामा हुने १०औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए ।
बारा जिल्लाका चौधरी विशेष गरि कथा, कविता, लघुकाव्य, महाकाव्य लगायतका लेखेका छन् । वि.सं २०३२ सालदेखि हालसम्म सक्रिय रुप लागेर बहुविधामा कलम चलाउँदै आएका छन् ।
संघका पूर्व अध्यक्ष सीताराम चौधरीको संयोजकत्वमा पुरस्कार छनौट समिति चयन गरेको थियो । उक्त समितिको सदस्यमा मोहन चौधरी, मनमति बखरिया, सुवेश कठरिया र सदस्य सचिवमा अनिल कुश्मीरहेका थिए । उक्त समितिले छनौट गरि सिफारिस गरेका स्रष्टालाई ‘थारू साहित्य पुरस्कार २०८२’ बाट सम्मानित गर्न लागिएको हो । थारु भाषा, साहित्य, संस्कृति र गीत संगीतको क्षेत्रमा विशेष योगदान पु¥याउने एक जना स्रष्टालाई संघले हरेक वर्ष साहित्यिक सम्मेलनमा सम्मान गर्दै आएको छ ।
संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद ६० हजार रुपिया नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्ने सचिव कुश्मीले जानकारी दिए । थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले अक्षय कोष स्थापना गरेको छ ।
सोही कार्यक्रममा प्रतिभा महिला सशक्तिकरण पुरस्कारबाट लम्कीचुहा नगरपालिका कैलालीकी गायिका समीक्ष चौधरी पनि सम्मानित हुने भएकी छन् । चर्चित तथा सफल कलाकारको रुपमा सफल भएकी गायिका चौधरीले थारू गीत संगीत उत्पादन, वितरण गरि थारू मौलिक कला संस्कृतिको प्रचारप्रसार, संरक्षण सम्वद्र्धनमा योगदान पु¥याए बाफत उनलाई सम्मान गर्ने भएको हो । पुरस्कार राशी नगद ३० हजार रहेको छ ।
रोदन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । सञ्चालक चौधरीले एकलाखको अक्षयकोष स्थापना गरेका छन् । कोरोना कारण २०७८ मा उनकी श्रीमति प्रतिभाको निधन भएको थियो ।