धनगढी, २३ पुस । सुदूरपश्चिम प्रदेशस्थित नेपाल भारत सीमा नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेक पोष्ट’ को प्रदेश सरकारका विभागीय मन्त्रीहरुले बुधबार निरीक्षण गरेका छन् ।
त्रिनगर (गौरीफन्टा) नाका र गड्डा चौकी नाकामा निर्माण भइरहेको ‘इन्टिग्रेटेड चेक पोष्ट’ आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले निरीक्षण गरेका हुन् । प्रदेश सरकारको लगानीमा नाकामा चेक पोेष्ट निर्माण गरिदैँछ ।
नाकामा चेकजाँचलाई व्यवस्थित बनाउनका लागि इन्टिग्रेटेड चेक पोष्ट निर्माण भइरहेको आर्थिक मामिलामन्त्री थापाले बताए । उनले इन्टिग्रेटेड चेक पोष्ट निर्माणका लागि मन्त्रीपरिषद्मा छलफल गरेर बजेटसमेत विनियोजन गरेको बताए । त्रिनगर र गड््डाचौकीमा इन्टिग्रेटेड चेक पोष्ट बनेमा भारतबाट आउने आम नागरिक, पर्यटकलाई सजिलो हुने मन्त्री थापाले उल्लेख गरे ।
चेक पोष्टमा स्क्रिनिङ मसिनहरु राखेर सामान र मान्छे स्क्रिनिङ गरी चेकजाँच गरिने जनाइएको छ ।