४ बैशाख २०८३, शुक्रबार April 17, 2026

‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ हुने

२० पुष २०८२, आईतवार
‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ हुने

धनगढी, २० पुस । धनगढीमा ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२’ हुने भएको छ ।
विज्ञान–प्रविधि, खेलकुद, कला–संस्कृति, सिर्जनशीलता र मनोरञ्जनको संगमका रूपमा आयोजना हुन लागेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ यहि पुस २२ गतेदेखि २९ गतेसम्म आयोजना हुने भएको हो । पाठशालाले आइतबार पत्रकार सम्मेलन मार्फत महोत्सवबारे जानकारी दिएको छ । पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले ‘ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाह’ भन्ने मूल भावका साथ महोत्सव आयोजना हुन लागेको बताए ।


महोत्सवले विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभालाई उजागर गर्ने लक्ष्य लिएको छ । कक्षाकोठामा सीमित शिक्षाभन्दा बाहिर व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने आयोजकको विश्वास रहेको छ ।
महोत्सवको मुख्य उद्देश्यमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन, बौद्धिक, सृजनात्मक, सांस्कृतिक तथा व्यवहारिक सीप विकास, आत्म विश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुद्धृढीकरण रहेको छ ।
त्यसैगरि संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यहारसँग जोर्दै जीवनोपयोगी शिक्षा प्रवद्र्धन, भाषा साहित्य, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण र प्रवद्र्धन, उद्यमशीलता, नवप्रर्वतन र समस्या समाधानको क्षमता विकास लगायत रहेको छ ।
महोत्सवबाट विद्यार्थीहरुका आत्मविश्वास, आत्म अनुशासन र नेतृत्व क्षमताको विकास, सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर प्राप्त, सिर्जनशिल सोच, अनुसन्धान प्रवित्ति र नवप्रवर्तनशील क्षमताको विकास, सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाभावको सबलीकरण, सांस्कृतिक पहिचानप्रति गर्व र संरक्षणको चेतना अभिवृद्धि हुने जनाएको छ ।
यसका साथै सार्वजनिक प्रस्तुती, संवाद र आलोचनाम्क सोचमा दक्षता, अभिभावक शिक्षक विद्यार्थी बिच सकारत्मक सम्बन्धको सुद्धृढीकरण, विद्यालय र समुदाय बिच दीर्घकालिन सहकार्यको आधार निर्माण र विद्यार्थीको समग्र व्यक्तित्व विकासमा योगदान पुग्ने जनाएको छ ।
महोत्सवको आकार्षणहरुमा विद्यार्थी प्रतिभा र प्रस्तुतीहरुमा प्लेन उडान परीक्षण, ड्रोन उडान, विज्ञान अन्वेषण र प्रविधि प्रस्तुती, अन्तर विद्यालय प्रतियोगिता, योग तथा ध्यान कार्यक्रम, रमाइला तथा शैक्षिक खेलहरु, सामुदायिक सेवा तथा रक्तदान कार्यक्रम, स्थानीय परिकार प्रर्दशनी, स्टिम प्रदर्शनी, नाटक मञ्चन र प्राज्ञिक बहस, मौलिक तथा सांस्कृतिक प्रस्तुती रहने जनाएको छ ।
पत्रकार सम्मेलनमा पाठशालाका अध्यक्ष जोशी, निर्देशक कटकबहादुर सिंह, प्रधानाध्यापक प्रेमनिधि ओझा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष, सचिव तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।