८ बैशाख २०८३, मंगलवार April 21, 2026

अधिवेशनलाई ऐतिहासिक बनाउँछौ : रेशम

१८ पुष २०८०, बुधबार
अधिवेशनलाई ऐतिहासिक बनाउँछौ : रेशम

धनगढी, १८ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम अधिवेशन टीकापुरमा हुने भएको छ ।
पार्टीले यही पुस २६ २७ र २८ गते प्रथम महाधिवेशन गर्ने भएको हो । धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै नाउपाका संरक्षक रेशमलाल चौधरी पार्टीको प्रथम अधिवेशन ऐतिहासिक हुने बताए ।
उनले ५२ जिल्ला जिल्ला कार्यसमिति गठन भएको बताउँदै देशभरिबाट आठ हजार बढी महाधिवेशन प्रतिनिधी आउने बताए ।
‘५२ जिल्लामा जिल्ला कार्यसमिति गठन भएको छ । देशभरिबाट ८ हजार महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गरेका छौँ । नागरिक उन्मुक्ति पार्टी प्रति निकै राम्रो चर्चा छ उत्साह छ ।’, उनले भने, ‘हामी पहिलो महाधिवेशनलाई ऐतिहासिक बनाउँदै छौँ ।’
संरक्षक चौधरीले कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सहित सबै दलका प्रमुख नेता आउने बताए । ‘प्रधानमन्त्री प्रचण्डजी महाधिवेशनको उद्घाटन आउने भएका छन् । यसका साथै माधव, बाबुराम, डा. सिके रावत, उपेन्द्र यादव सबैलाई भेटेरै निम्तो दिएका छौँ उनीहरु पनि आउँछौँ भनेका छन्’ उनले भने, ‘केपी ओली मिति हेरेर खबर गर्छु भनेका छन् । शेरबहादुर देउवाले मुख्यमन्त्री सहित संघको मन्त्रीलाई पनि आफ्नो शुभकामना सन्देश पठाउँछु भनेका छन् ।’
संरक्षक चौधरीले महाधिवेशनमा भारतबाट भाजपाका प्रतिनिधि लगायत थाइल्यान्ड केन्याबाट पनि प्रतिनिधिहरू आउने बताए ।
उद्घाटन समारोहमा एक लाख बढी नेता कार्यकर्ता उपस्थित हुने जनाइएको छ । उक्त महाधिवेशनबाट ३९ पदाधिकारी सहित ५०१ सदस्य निर्वाचित हुने छन् । २४६ जना प्रत्यक्ष निर्वाचित हुने र २५५ जनालाई मनोनित गर्ने जनाइएको छ ।