६ बैशाख २०८१, बिहीबार April 18, 2024

कैलाली र अछाममा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग

१४ माघ २०७९, शनिबार
कैलाली र अछाममा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग

कैलाली । सदुरपश्चिम प्रदेशमा कुष्ठरोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइएको छ ।
७०औं विश्व कुष्ठरोग दिवस २०७९ को पूर्वसन्ध्यामा धनगढीमा शनिबार पत्रकारहरुसंग भएकोे अन्तरक्रिया कार्यक्रम प्रस्तुत तत्यांक अनुसार प्रदेशको कैलाली र अछाम जिल्लामाा अहिलेसम्म पनि कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइएको हो । कैलाली र अछामा कुष्ठरोगको प्रकोप दर १० हजार जनसंख्यामा १ भन्दा बढी रहेकोले जनस्वास्थ्य समस्याको रुपमा लिइएको जनाइएको छ ।
प्रदेशको ६ पहाडी जिल्ला डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा र बझाङमा कुष्ठारोगको प्रकोप दर १० हजार जनसंख्यामा ०.५ भन्दा कम रहेको छ भने कञ्चनपुरमा ०.८१ रहेको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा १११ पुरुष र ९४ महिला सहित कुल २०५ जना कुष्ठरोगका विरामी रहेका छन् । जसमध्ये कैलालीमा सबैभन्दा बढी १३१ जना, कञ्चनपुरमा ३२, अछाममा २५, बाजुरामा ४, बझाङमा ३, डडेल्धुरामा १, डोटीमा ५, दार्चला र बैतडी जिल्लामा २/२ जना कुष्ठरोग संक्रमित व्यक्ति रहेका छन् । बिश्व स्वास्थ्य संगठनले १० हजार जनसंख्यामा कुष्ठरोगका केश १ भन्दा कम भएमा त्यसलाई निवारण उन्मुख भनेको छ ।
त्यसैगरि आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म ४२ पुरुष र ३० महिला सहित ७२ जना नयाँ विरामी फेला परेका छन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले कुष्ठरोगबारे समुदायमा जनचेतना ल्याउन आवश्यक रहेको बताएका थिए । उनले रोगबारे आफू पनि सचेत रहन र अरुलाई पनि सचेतीकरण गर्नसके समुदायमा रोग सर्नबाट बचाउन सकिने बताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म जिवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो । यो रोग मानिसबाट मानिसमा सर्छ । उपचार नगरेको कुष्ठरोग विरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्ने गर्दछ ।
समयमै उपचार गरे यो रोग पुर्ण रुपमा निको हुन्छ । यसका साथै सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुमा सर्दैन । ढिला उपचारमा आएका विरामीहरुमा अपांगता हुन सक्ने, लामो समय औषधी खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने गर्दछ ।
नेपालमा सन २०१० मा कुष्ठरोग निवारणको घोषणा गरिए पनि कुष्ठरोगका विरामीहरु शून्यको अवस्थामा पुर्याउन सकेको छैन् । हाल नेपालले कुष्ठरोग विहिन नेपालको परिकल्पना गरेको छ । नेपालले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा पुर्याउने लक्ष्य लिएको छ ।
सोही कार्यक्रमका बिच विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस सम्बन्धी पनि अन्तरक्रिया भएको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख ललित धामी, कुष्ठरोग निवारण संघ कैलाली अध्यक्ष सीताराम जोशी, नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष हिमाल जोशीले शुभकामना मनतब्य राखेका थिए ।