२९ मंसिर २०८१, शनिबार December 14, 2024

च्याउ खेतीबाट लाखौँको सम्पत्ति जोड्ना सफल श्रीराम कठरिया

१३ माघ २०७९, शुक्रबार
च्याउ खेतीबाट लाखौँको सम्पत्ति जोड्ना सफल श्रीराम कठरिया

टीकापुर । कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका २६ वर्षीय श्रीराम कठरियाको पाँच जनाको परिवार च्याउ खेतीमा संलग्न छन् । सात वर्षअघि च्याउ खेतीमा लागेका श्रीरामले च्याउबाटै ३२ लाखको सम्पत्ति जोेडेका छन् । च्याउ खेती सिक्दैमा उनको दुई वर्ष बित्यो । दुई वर्ष कोरोनाका कारण च्याउको बीउ नै पाएनन् । पछिल्ला दुई वर्षको कमाइ हो यो ।
च्याउ किसान श्रीरामले भने, “अहिले यस वर्षको दोस्रो सिजन हो, एक हजार छ सय प्याकेट च्याउ फलिरहेका छन् ।” दुई महिनापछि यत्तिकै मात्रामा फेरि च्याउ लगाउने उनको तयारी छ । दिगो उत्पादन गरेर च्याउका परिकार पाइने रेस्टुरेन्टको कल्पना पनि उनले गरेका छन् ।
उनका अनुसार च्याउका लागि कोठाको तापक्रम २० देखि ३० डिग्री, ९० प्रतिशत आद्र्रता र सफा हावा चाहिन्छ। सबै महिना च्याउ उत्पादन गर्ने योजनामा रहेका श्रीरामले त्यसका लागि वातानुकूलित वातावरण व्यवस्था गर्ने तयारीमा रहेका छन् । जानकी गाउँपालिका–५, पथरैयाका एन्जिल चौधरीले श्रीरामकै पे्ररणा र सहयोगले आफू पनि चार वर्षदेखि च्याउ खेतीमा रमाएको बताए ।
च्याउ खेतीमा अन्य युवालाई समेत प्रोत्साहित गर्दै आएका श्रीरामले अन्य किसानका उत्पादनको बजारीकरण गर्दै आएका छन् । कैलालीमा सिजनअनुसार कन्ये, गोबे्र, वेस्टर, मिल्की च्याउ उत्पादन भइरहेका छन् । मौसममा थोक बिक्री प्रतिकिलो डेढ सय र बेमौसममा प्रतिकिलो २५० रुपियाँसम्म पाइन्छ । कक्षा १२ सम्म कृषि विज्ञान विषय अध्ययन गरेका श्रीरामले काठमाडौँको बलम्बु पुगेर च्याउसम्बन्धी तालिम लिएका थिए ।
कम लगानीमा छिटो आम्दानी दिने भएकाले किसान च्याउ खेतीमा आकर्षित छन् । पोसिलो, शाकाहारी खाना भएकाले उपभोक्ता पनि च्याउ रुचाउँछन् ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा बीस वर्ष अघिदेखि कन्या र गोबे्र च्याउ उत्पादनमा किसानलाई सहयोग भइरहेको छ । बीउ उत्पादन र प्रयोगशाला सुदृढीकरणमा समेत केन्द्रले अनुदान दिन्छ ।
गोरखापत्रबाट