बझाङ । सुदूरपश्चिम प्रदेश सहित नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो २ः४४ बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बाजुराको मैला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ। हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् ।अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको छ । उनका अनुसार उद्दारका लागि प्रहरी परिचालन गरिएको र मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ।
यस्तै बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। उक्त भवन र सदरमुकाम चैनपुरमा रहेको सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर समेत भूकम्पले भत्काएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको बताइएको छ। भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन्। भने विस्तृत विवरण आउन बाँकी छ।