संगत कैलरिया
धनगढी । थारु समुदायको महान पर्व माघको सुभ अवसरमा माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हमार संस्कृति हमार पहिचान, संस्कृती बचैना हमार अभियान भन्ने मुल नाराका साथ यहि माघ ३ गते कार्यक्रम सम्पन्न भएको हो ।
धनगढी-१३ श्रीलंका कैलाली स्थित स्वाभिमानी युवा क्लवको आयोजनामा कार्यक्रम भएको आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेश सरकार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टी. एन. जोशी प्रमुख अतिथि रहेका थिए ।
त्यसैगरी नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश सदस्य अम्बिका देउवा, नेपाल संस्कृति संघका केन्द्रिय उपसभापति सुरत रावत डोटेली कान्छा, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी विशिष्ट अतिथि रहेका थिए ।
माघ विशेष कार्यक्रममा स्थानीय सखिया, झुमरा, मघौटा, आधुनिक नाचगानको पनि प्रस्तुति रहेको थियो । क्लवका सल्लाहकार खेमलाल चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रम संचालन क्लवकी अध्यक्ष सीता चौधरीले गरेकी थिइन ।
यसैगरी कंचनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ८ मज्गैं गाउँमा पनि माघ विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम डंगौरा थारु भलमन्सा समाजको आयोजनामा भएको थियो । कार्यक्रममा स्थानीय लोकसंस्कृति, लोकगीत, स्थानीय कलाकार लोक गायक राजु चौधरी राज, गायक रामकुमार कठरियाको पनि विशेष प्रस्तुति रहेको कार्यक्रम व्यवस्थापक रामु कुस्मीले बताए ।