६ बैशाख २०८१, बिहीबार April 18, 2024

टीकापुर बन्द कोठामा घटाइएको घटना होइन : रञ्जिता

२५ पुष २०७९, सोमबार
टीकापुर बन्द कोठामा घटाइएको घटना होइन : रञ्जिता

काठमाण्डौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताएकी छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मद्दा लगाइएको टिप्पणी गरिन् ।
न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मद्दा लगाइयो ? कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मद्दा लगाइयो । र, थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा राखियो ।’
टीकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताउँदै उनले भनिन्, ‘टीकापुर थारु आन्दोलन, टीकापुर घटना कुनै बन्द कोठा भित्र घटाइएको घटना थिएन, हजारौंको भिडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखिएको छ ।’
पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गरेको बताउँदै अध्यक्ष चौधरीले त्यसअघि अरू राजनीतिक घटना भए पनि त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण दिइन् । टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उनले सरकारसँग आग्रह गरिन ।
टीकापुर घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेसहितको दुखद निधनप्रति आफूहरू दुःखी भएको र निर्दोष कोहीलाई अन्याय हुन नहुने बताइन् । लाल आयोगको प्रतिवेदन अझै सरकारले सार्वजनिक नगरेको भन्दै उनले त्यसको चाँडै सार्वजनिक गर्नुपर्ने माग गरिन् ।
न्याय निरूपण नहुँदासम्म संसदमा आफूहरूले सङ्घर्ष जारी राख्ने पनि उनले बताइन् । उनले निर्दोष नागरिकलाई जेलमा राख्न अनुचित रहेको भन्दै अध्यक्ष श्रेष्ठले विना सर्त रिहाइ गर्न सरकारसँग माग गरिन ।
अध्यक्ष श्रेष्ठले अन्यायमा परेकाहरूको न्यायका लागि आफ्नो दल निर्माण भएकाले निरन्तर न्यायका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइन् ।