धनगढी । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् सांसद् गंगाराम चौधरीले आफ्नो पार्टी पदभन्दा पनि मुद्दामा अडिग रहेको बताएका छन् ।
सो पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरेको चर्चा चुलिएको बेला उनले पार्टीको निर्णय सरकारमा नजाने रहेको उल्लेख गरे । ‘मुख्यमन्त्री वा मन्त्री जुनसुकै पद् दिए पनि सरकारमा सहभागी हुँदैनौं’, सांसद चौधरीले भने,‘हाम्रो माग पद् होइन, टीकापुर घटनाको मुद्दा खारेजी हो ।’
उनले नागरिक उन्मुक्ति पार्टीले उठाएको माग, मुद्दा सम्बोधन नभएसम्म सङ्घ र कुनै प्रदेशमा सरकारमा सहभागी नहुने बताए । ‘पार्टीका कोही नेताले मुख्यमन्त्री पाए सरकारमा जाने कुरा गर्दै हुनुहुन्छ भने त्यो उहाँहरुको व्यक्तिगत भनाइमात्रै हो’, उनले भने,‘माग, मुद्दा सम्बोधन नभएसम्म हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णयलाई यथावत राखेको छ ।’
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकार गठनका लागि निर्णायक देखिएको छ । निर्णायक बनेको सो पार्टी राजनीतिक आन्दोलनको क्रममा घटेको टीकापुर घटनाको मुद्दा खारेज हुनु पर्ने, रेशम चौधरीसहितका बन्दी रिहाइ हुनु पर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने माग राखेको छ । यी माग पूरा नभएसम्म सरकारमा नजाने नागरिक उन्मुक्ति पार्टीको जिकिर छ ।
‘मुख्यमन्त्री दिन्छौं भन्ने पनि कुरा आइरहेको छ’, सांसद चौधरीले भने,‘तर, हाम्रो माग पूरा नभएसम्म जुनसुकै पद् दिए पनि हामी सरकारमा जाँदैनौं ।’