७ बैशाख २०८१, शुक्रबार April 19, 2024

‘थारु समुदायको साझा मुद्दा सदनमा बुलन्द गर्छौं’

२३ पुष २०७९, शनिबार
‘थारु समुदायको साझा मुद्दा सदनमा बुलन्द गर्छौं’

राम दहित
धनगढी, २३ पुस । थारु समुदायबाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले आफ्नो समुदायको साझा मुद्दा प्रदेश सदनमा उठाउने प्रतिवद्धता जनाएका छन् ।
थारु कल्याणकारिणी सभा लगायत १४ वटा जातिय संघ, संस्थाले शनिबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा उनीहरुले साझा मुद्दाबारे सदनमा आवाज बुलन्द पार्ने प्रतिवद्धता जनाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीको प्रमुख सचेतकसमेत रहनु भएका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले अब सडकमा नभइ थारु समुदायको आवाज सदनमा बुलन्द गर्ने बताए । उनले टीकापुर घटनापछि राज्यले थारु समुदायलाई जबरजस्ती अपराधी बनाउने कार्य गरेको भन्दै अगाडि थपे,‘कुनै पनि समुदायलाई एकतर्फी पेलेर विकासको कल्पना गर्न सकिन्न ।’ टीकापुर घटना राजनीतिक रहेकाले मुद्दा खारेजी हुनु पर्ने आफ्नो पार्टीको जोड रहेको उनकोे भनाइ थियो ।


राज्यले नीतिगत रुपमा थारुमाथि विभेद गर्ने कार्य गरिरहेको भन्दै चौधरीले नीति निर्माण गर्ने ठाउँमा आफूहरु पुगेकाले सुधारका लागि प्रयत्न गर्ने उल्लेख गरे । ‘हामी राजनीतिमा लाग्नु नै एउटा विद्रोह हो’, चौधरीले भने,‘अब हाम्रो समुदायको आवाज प्रदेश र प्रतिनिधि सभामा बुलन्द हुन्छ ।’
यस्तै, अर्का प्रदेश सभा सदस्य खुशीराम डङ्गौरा थारुले साझा मुद्दामा सबै एक हुनु पर्ने भन्दै न्यायका लागि संघर्ष गरिरहने बताए । अर्का प्रदेश सभा सदस्य घनश्याम चौधरीले विकासको साझा सपना आफूहरुले पूरा गर्ने बताए ।
यसैगरी, प्रदेश सभा सदस्य कोइलीदेवी चौधरीले थारुहरु जुनसुकै पार्टीमा भए पनि थारु समुदायको साझा मुद्दामा एक रहेको बताइन् । ‘जनताले हामीलाई जुन उद्देश्य लिएर पठाएका छन्, त्यसका लागि हामी तत्पर छौं’, उनले भनिन् ।
कार्यक्रममा थारु समुदायको १२ बुँदे साझा मुद्दा प्रदेश सभा सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । प्रतिनिधि सभा सदस्यहरुको कार्यक्रममा अनुपस्थिति भएकाले प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीमार्फत उहाँहरुलाई पनि माग, मुद्दा हस्तान्तरण गरिएको छ । थारु कल्याणकारिण सभा कैलालीका कार्यबाहक सभापति माधव थारुले नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई साझा माग, मुद्दाको फाइल हस्तान्तरण गर्नु भरेका थिए ।


कार्यक्रमका सहभागीहरुले टीकापुर घटना थारु समुदाय लागिको सबैभन्दा प्रमुख र साझा मुद्दा रहेको बताए । उनीहरुले राजनीतिक आन्दोलनको क्रममा भएको घटनालाई राजनीतिक रुपमै समाधान र मुद्दा खारेज हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले ध्यानाकार्षण पत्र बाचन सहित सांसदहरुलाई ध्यानाकार्षण गराएका थिए ।
कार्यक्रममा थरुहट नेता लक्ष्मण थारु, थाकस कैलालीका कानूनी सल्लाहकार अधिवक्ता जोहारी लाल चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सदुरपश्चिम प्रदेश समन्वय समितिका कानूनी सल्लाहकार अधिवक्ता नाथुराम महतो, धनगढी नगर भलमन्सा समितिका अध्यक्ष रोहित चौधरी लगायत मनत्ब्य राखेका थिए ।
त्यसैगरि हमार फाउन्डेशनका ठाकुर करिया प्रधान, थारु नागरिक सभाकी सदस्य बसन्ती चौधरी, शिक्षक तथा वुद्धिजिवी राजकुमार महतो, थारु विद्यार्थी समाजका केन्द्रीय सदस्य एन्जल चौधरी लगायत प्रदेश सभासदस्यहरुलाई माग मुद्दाबारे सम्बोधनका लागि ध्यानाकार्षण गराएका थिए ।
कार्यक्रममा स्वागत मनतब्य थारु महिला सभाकी अध्यक्ष दुर्गा कुश्मीले गरेकी थिइन् भने सञ्चालन पत्रकार राम दहितले गरेका थिए ।
ध्यानाकर्षणका बुँदाहरु:
१. टीकापुर घटनामा परी रेशम लगायतका निर्दोष थारु राजबन्दीहरुको रिहाई र ५८ जनामा लगाइएको झुट्ठा मुद्दाको खारेजीको लागि पहल गरियोस् ।
२. पहिचान देशको अमूल्य सम्पत्ति भएकोले थरुहट थारुवान प्रदेशको लागि निरन्तर आवाज उठाउने काम होस, पहल होस् ।
३. संबिधानमा उल्लेखित थारु क्लष्टरको सम्मानका लागि दलित, मधेशी, महिला, आदिवासी जनजाति जस्तै थारुहरुको लागि राज्यद्वारा गरिने हरेक बिज्ञापनमा ६.६ % आरक्षण कोटा छुट्याउने पहल होस् ।
४. सु.प. प्रदेश लोकसेवा आयोगले गर्ने हरेक बिज्ञापनमा थारुहरुका लागि २०% आरक्षण कोटा निर्धारणका लागि पहल होस् ।
५. प्रदेशस्तरमा र थारु बहुल गाउँपालिका, नगरपालिकाहरुमा सरकारी कामकाजको भाषाको रुपमा थारु भाषालाई मान्यता दिलाउने, व्यवहारमा लागू गर्ने पहल होस् ।
६. थारु बहुल क्षेत्रका प्राथमिक बिद्यालयहरुमा थारु भाषामा पाठ्यक्रम थारु भाषामा पढाईको ब्यबस्थाका लागि पहल होस्।
७. थारु बहुल जिल्लाहरुमा प्रहरी प्रमुख, प्रशासन प्रमुख (प्र.जि.अ.) थारु जातिलाई पठाउने कामको लागि पहल गरियोस् ।
८. यहाँहरु निर्वाचित भएको क्षेत्र, बसोबास गरेको निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशमा थारु चाडपर्वले सम्मान पाओस् ।
९. प्रदेशस्तरमा सिकलसेल एनिमिया बिशेष अस्पतालको निर्माण र बिरामीहरुलाई बाचुञ्जेल औषधि, उपचारको व्यवस्थाको लागि पहल होस् ।
१०. भल्मन्सा प्रथा लोकतान्त्रिक भएकोले थारु बहुल हरेक स्थानिय तहलाई ऐन बनाई त्यसलाई स्थानियतहबाटै समायोजन र मान्यता प्रदान गर्ने कार्यको पहल होस् ।
११. थारु बहुल जिल्ला, प्रदेशमा थारुहरुको नयाँ बर्ष माघ मनाउनका लागि २ दिन (पुष अन्तिम दिन र माघ १ गते), अँट्वारीमा १ दिन (भाद्र शुक्ल पक्षको पहिलो आइतवार), चिरै/चरै (चैत शुक्ल पक्षको पहिलो सोमबार) विद्यालयमा बिदाको व्यवस्था गर्ने पहल होस् ।

ध्यानाकर्षण गराउने संघ, संगठनहरु
१. थारु कल्याणकारिणी सभा कैलाली
२. थारु नागरिक समाज कैलाली
३. थारु महिला सभा कैलाली
४. थारु बिद्यार्थी समाज कैलाली
५. थारु पत्रकार संघ कैलाली
६. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलाली
७. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति
८. हमार फाउन्डेशन कैलाली
९. सखी सञ्जाल कैलाली
१०. थारु युवा सभा, कैलाली
१२. राष्ट्रिय थारु कलाकार मञ्च, सुदूरपश्चिम प्रदेश
१३. थारु लेखक संघ, कैलाली
१४. धनगढी नगर बरघर भलमन्सा समिति कैलाली