२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलालीको सिमसार क्षेत्रमा आगन्तुक चराको चहलपहल

२२ पुष २०७९, शुक्रबार
कैलालीको सिमसार क्षेत्रमा आगन्तुक चराको चहलपहल

अविनाश चौधरी
धनगढी । रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) सहित कैलालीको सीमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको चहलपहल बढेको छ ।
हजारौं किलोमिटर यात्रा तय गरेर हिउँदे आगन्तुक जलपक्षी आएपछि यहाँका तालतलैयाहरुमा चराको चहलपहल भएको हो । जाडो छल्नका लागि साइबेरियाबाट हाँस प्रजातिका विभिन्न प्रकारका जलपक्षी कैलालीमा आएका छन् ।
साइबेरिया लगायत उत्तरी क्षेत्रमा अत्यधिक जाडो भएपछि विभिन्न प्रजातिका चरा जाडो छल्न हिउँदमा यहाँ आउने गर्दछन् । घोडाघोडीसहित विभिन्न तालमा मरुल हाँस, खरखरे, हरियो टाउके, सिन्दुरे हाँससहित ठूलो जलेवा आएको चराविद हिरुलाल डङ्गौराले बताए ।
उहाँका अनुसार हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन । तर, यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गर्दछन् । यसैगरी, चीन, तिब्बततिर प्रजनन् गर्ने ठूलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।
घोडाघोडीसहित नकरोड, महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगातिका हिउँदे आगन्तुक चरा रहेका जनाइएको छ । ‘यी चराहरु छ महिनासम्म यहाँ बसोबास गर्ने गर्दछन्’, डङ्गौराले भने,‘अक्टोवर अन्तिमसम्म यहाँ आइपुगेका चराहरु मार्चमा फेरि आएकै ठाउँतिर फर्कन्छन् ।’
कैलालीसहित कञ्चनपुरमा रहेको सिमसार क्षेत्रमा आएका आगन्तुकसहित जलपक्षीको हरेक वर्ष गणना पनि हुँदै आएको छ । पुस २३ देखि माघ ८ गते (जनवरी ७ देखि २२ तारेख) सम्म जलपक्षीको गणना हुने कार्यक्रम रहेको जनाइएको छ ।
दुवै जिल्लाको मुख्य तालतलैयादेखि लिएर कर्णाली नदीको तल्लो तटीय क्षेत्रसम्म हिउँदे आगन्तुक चरा र जलपक्षीको गणना हुने डङ्गौराले जानकारी दिए ।
कैलालीमा ४९६ प्रजातिका चरा पाइने गरेका जनाइएको छ । जसमध्ये राज लाहाँचे, डङ्गर गिद्ध, गरुड लगायत विश्वबाटै लोप हुने अवस्थाका चरा पनि यहाँ रहेका छन् । यसैगरी, नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा ३६० प्रजातिका चरा पाइने गर्दछन् । कैलालीमा सबैभन्दा बढी चरा प्रजाति घोडाघोडीमा पाइने गरेको तथ्याङ्कले देखाउँछ ।
घोडाघोडी सिमसारमा पाइने चराको व्यवस्थित तरिकाले संरक्षण गर्ने उद्देश्यले गतवर्ष फागुन २७ गते सुदूरपश्चिम सरकारले घोडाघोडीलाई नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो ।
घोडाघोडी क्षेत्रमा संरक्षण सम्बन्धी थप सचेतना फैलाउने उद्देश्यका साथ यस वर्ष नेपाल लाटोकोसेरो उत्सव पनि गर्न लागिएको छ । संरक्षणमा क्रियाशील संस्था फ्रेन्ड्स अफ नेचरले यस पटक कैलालीको घोडाघोडीस्थित माघी होमस्टेमा लाटोकोसेरो उत्सव आयोजना गर्न लागेको हो । माघ २० र २१ गते दुईदिनसम्म उत्सव हुने जनाइएको छ । यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव गरिएको थियो ।
पछिल्लो समय कैलालीमा चरा प्रजातिको सङ्ख्या थपिदैं गएको छ । यद्यपि, बसोबास स्थानको विनाश, सिमसार क्षेत्र मासिदै जानु, चराको शिकार, कृषिमा बढ्दो विषादीको प्रयोग लगायतका कारणले संरक्षण चुनौती कायमै रहेको छ । प्राकृतिक तालतलैयासहित सिमसार क्षेत्रको प्राकृतिक अवस्था बिग्रिने गरी भइरहेको दोहनले चराचुरुङ्गीलाई असर गरिरहेको संरक्षणकर्मीहरु बताउँछन् । प्राकृतिक तालतलैयाको प्राकृतिक स्वरुप र पारस्थितिकीय प्रणाली नबिग्रिने गरी सदुपयोग र व्यवस्थापन गर्न आवश्यक रहेको संरक्षणकर्मी भोजराज ढुङ्गाना बताउँछन् ।
पश्चिमटुडेबाट