९ चैत्र २०८१, आईतवार March 23, 2025

नुक्लिपुर महोत्सवको तयारी अन्तिम चरणमा

२२ पुष २०७९, शुक्रबार
नुक्लिपुर महोत्सवको तयारी अन्तिम चरणमा

धनगढी । कैलारीको गौरीगंगा नगरपालिका–१० मा हुन गइरहेको नुक्लिपुर महोत्सवको तयारी धमाधम भइरहेको छ । यहि पुस २५ देखि २९ गतेसम्म हुने महोत्सव तथा होमस्टे उद्घाटनका लागि धमाधम तयारी भइरहेको हो ।
‘भाषाकला संस्कृति, जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका सहित पहिलो पटक नुक्लिपुर महोत्सव २०७९ आयोजना गर्न गइरहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष भागीराम चौधरीले बताए ।
होमस्टेको प्रचारप्रसार, मौलिक हस्ताकला प्रवद्र्धन गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष चौधरीले बताए ।


यता महोत्सव तथा होमस्टे उद्घाटनका लागि तयारी धमाधम भइरहेको समितिका सदस्य तथा मिडिया संयोजक दिनेश दहितले जानकारी दिए । महोस्टवका लागि स्टल निर्माण देखि मञ्च व्यवस्थापन लगायत महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
महोत्सवमा रमाइलो मेला, थारु खानपानको सुविधा, हस्ताकला प्रदर्शनी तथा विक्री वितरण, खुला पुरुष फुटवल प्रतियोगिता, चर्चित थारु कलाकारहरुको प्रस्तुती, थारु गुरुवाहरुको शक्ति प्रदर्शन, डल्लफमा जंगल सफारीकोे कार्यक्रम रहेको मिडिया संयोजक दहितले जानकारी दिए ।
२०७७ सालमा होमस्टे स्थापना लगत्तै कोरोना महामारी सुरु भएपछि नुक्लिपुर सामुदायिक होमस्टेको विधिवत उद्घाटन हुन सकेको छैन । आयोजकले महोत्सवसँगै होमस्टेको उदघाटन कार्यक्रम पनि राखेको छ । नुक्लिपुरमा हाल ६ घरमा होमस्टे संचालनको लागि तयारी गरेको छ ।
कसरी पुग्ने महोत्सव तथा होमस्टे गाउँ नुक्लिपुर
गौरीगंगा नगरपालिका वडा नम्बर १० मा नुक्लिपुर गाउँ पर्छ । यो गाउँको उत्तरतिर उदासीपुर गाउँ, दक्षिण तर्फ कैलारी गाउँपालिका वडा नम्बर ८ को भंगहा गाउँ, पूर्व तिर भगतपुर र सुन्दरपुर गाउँ पर्छ भने पश्चिम तर्फ लक्ष्मी र सरस्वती सामुदायिक वन पर्छ ।
होमस्टे गाउँमा तथा महोत्सव स्थल पुग्नका लागि महेन्द्र राजमार्ग बढैपुर आर्मी व्यारेक देखि ७ किलोमिटर दक्षिण र उदासीपुरको सरस्वती माध्यमिक विद्यालयबाट १ किलोमिटर पश्चिम जंगल किनारमा अवस्थित रहेको छ । त्यसैगरि हुलाकी सडक हसुलिया बजारबाट १६ किलोमिटर उत्तर यो गाउँ सुन्दर शान्त वातावरणमा अवस्थित रहेको छ ।