धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले लिनेगरी गठबन्धनको शिर्ष तहमा सहमतिको बातावरण बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आश्वासन दिएका छन् ।
माओवादीका अध्यक्ष समेत रहेका दाहालले बिहीबार सुदूरपश्चिमका नेताहरुसँगको भेटमा प्रदेश सरकारको नेतृत्वका लागि शिर्ष तहमा सहमति गर्ने आश्वासन दिएका हुन् । माओवादी केन्द्र सुदूरपश्चिमका अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’ ले प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने विषयमा कुराकानी भएको बताए । प्रधानमन्त्री दाहालले एमाले नेतृत्वको गठबन्धनको शिर्ष तहमा सहमति जुटाउने विश्वास दिएको चौधरीले जानकारी दिए ।
‘प्रधानमन्त्री ज्यूले गठबन्धनमा आवद्ध दलहरुको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने बातावरण सिर्जना गर्न पहल गछौँ भन्नुभएको छ,’ चौधरीले भने ।
प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमबिक्रम भाट लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेससँग पनि छलफल गरिरहेको स्रोतको भनाई छ । तर माओवादी जसरी पनि नेतृत्व पाउनुपर्ने अडानमा रहेको छ ।
प्रदेश नेतृत्वका लागि दलका नेताहरु दौडधुप गरिरहेकै बेला सुदूरपश्चिम प्रदेश सकार गठनका लागि प्रदेश प्रमख देवराज जोशीले दलहरुलाई आफ्नो दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुख जोशीले बुधबार सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए । दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको ढुंगानाले बताए ।
संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ ।
यहाँ १९ सिटसहित नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । माओवादी केन्द्र्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एसको ४, राप्रपा १ र एकजना स्वतन्त्र सांसद छन् ।