काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’
कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।