धनगढी, ३ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सबै क्षेत्रमा चुनौती भोग्नु परेको एक कार्यक्रमा बताएका छन् ।
एकता नेपालको आयोजनामा धनगढीमा बुधबार भएको सञ्चारकर्मीसंग अन्तरक्रियामा उनीहरुले सबै क्षेत्रमा चुनौती भोग्नु परेको बताएका हुन् । एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति सबै क्षेत्रमा समाजिक पूर्वाग्रह र विभेद सहनु परेको बताए । उनले शिक्षा, स्वास्थ्य तथा रोजगारी र आर्थिक अवसरमा असमानता रहेको बताए । साथै उनले उक्त समुदायका व्यक्तिलाई सामाजिक वहिष्करण गर्नुका साथै असुरक्षा रहेको समेत बताए ।
सोही अन्तरक्रिया कार्यक्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले सहरी क्षेत्रमा कोठा (डेरा) पाउन गाह«ो रहेको बताएका छन् । उनीहरुले आफ्नो पहिचान लुकाएर डेरा खोज्नु पर्ने बाध्यता रहेको पनि बताएका छन् । वास्तविक परिचय थाहा पाएपछि आनाकानी गर्दै घरबेटीहरुले कोठा दिन अस्वीकार गर्ने गरेको उनीहरुको भनाइ छ ।
“लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति प्रायः घर छोडेर अन्यत्र कोठा लिएर बस्नु पर्ने अवस्था छ”, कार्यकारी निर्देशक चौधरीले भने,“तर, धनगढीमा सजिलै कोठा पाइँदैन । आफ्नो पहिचान लुकाएर कोठा खोज्नु पर्ने बाध्यता छ । थाहा पाए कोठा दिदैंनन् ।”
कोठा सोधेपछि घरबेटीहरुले माथिदेखि तलसम्म हेर्दै पहिचान र जात सोध्ने गरेको जनाइएको छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले अझ दोहोरो समस्या झेलिरहेको जनाइएको छ । “उनीहरु आफ्नो पहिचान र जात दुवै लुकाएर कोठा खोज्नु पर्ने बाध्यता छ”, कार्यकारी निर्देशक समेत रहेका चौधरीले भने ।
पढे, लेखेका र सरकारी जागिर गरिरहेका व्यक्तिलेसमेत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई होच्याउने किसिमको व्यवहार गर्ने गरेको उनीहरुले अनुभव सुनाएका छन् । आफूहरुलाई मगन्ते वा लाजसरम नभएकाहरुको रुपमा हेर्ने गरेको उनीहरु बताउँछन् । हालसालै धनगढीको भन्सार क्षेत्रमा साथीको लागि डेरा खोज्दा कसैले पनि कोठा दिन नमानेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सन्दिप भुजेलले बताए ।
“कोठा छ भन्ने तर, हामीलाई देखिसकेपछि दिन आनाकानी गरिन्छ”, उनले भने,“फाइनल कुरा भोलि गर्ने भनेर पन्छिने, तर भोलि जाँदा अर्कैलाई दिइसके भन्ने परिपाटी छ ।”
भारतबाट आएका कतिपय ट्रान्सजेन्डरहरुले मान्छेलाई सताउने, जथाभावी माग्ने नदिए अपशब्द प्रयोग गर्ने गरेका कारण त्यसको असर आफूहरुलाई परिरहेको उनीहरु बताउँछन् । ती ट्रान्सजेन्डरहरुले मान्छेलाई दुःख दिएका कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (एलजिबिटिआइक्यु प्लस) का सबै व्यक्तिलाई समाजले एउटै घानमा हालेर हेर्ने र सबै जना त्यस्तै रहेको जस्तो व्यवहार गर्ने गरेको यो समुदायका व्यक्तिले बताउने गरेका छन् ।
भारतीय ट्रान्सजेन्डरहरुको संस्कार सिकेर यहाँ दुःख दिइरहेका ट्रान्सजेन्डरहरुले गर्दा सबैले दुःख पाइरहेको आशिका चौधरीले बताइन् ।
कोठा पाउनमात्रै नभइ यो समुदायका व्यक्तिले आफूहरुलाई रोजगारी पाउनसमेत गाह«ो रहेको बताएका छन् । शरीरको बनावटभन्दा स्वभाव, शैली फरक देखेपछि रोजगार प्रदायकहरुले काममा नराख्ने गरेको उनीहरुको भनाइ छ ।
धनगढीमै एक कपडा पसलका साहुले काम गर्न बोलाएर नराखेको कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का रामजनम रानाले बताए । “पसलमा काम गर्ने साथीलाई कामदार खोज्न भनेकाले साथीमार्फत म आएको थिएँ”, उनले भने,“तर, त्यो साहुले मलाई हेर्दै केटाको जस्तो रहेको र यस्तो मान्छे राख्दा मेरो कपडा बिक्री हुँदैन भनेर साथीलाई भनेका रहेछन् ।”
त्यस्तै, ल्याब असिस्टेन्ट अध्ययन गर्नु भएका सन्दिप र स्नातकोत्तर गरेकी कृत्ति चौधरीले पहिचान थाहा पाएपछि गैरसरकारी संस्थाहरुले आफूहरुलाई जागिर नदिएको अनुभव सुनाएका छन् ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारका लागि संविधानको धारा १८ र ४२ मा व्यवस्था भए पनि त्यो कुरा काजगमामात्रै सीमित रहेको राज चौधरीको बुझाइ छ । उनले धेरै ठाउँमा आफूहरुले समस्या भोगिरहेको उल्लेख गरे ।