१९ बैशाख २०८३, शनिबार May 2, 2026

विपन्नका लागि साहारा बन्दै ’गाउँले डाक्टर’ हरिलाल

१९ बैशाख २०८३, शनिबार
विपन्नका लागि साहारा बन्दै ’गाउँले डाक्टर’ हरिलाल

अविनाश चौधरी
धनगढी, १९ बैशाख । कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका ७७ वर्षीय हरिलाल चौधरी विपन्न नागरिकका लागि ’गाउँले डाक्टर’ साबित भएका छन् । उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका र नशा एवं हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि चौधरी भरपर्दो वैद्य बनेका हुन् ।


कुनै औपचारिक चिकित्सा शिक्षा हासिल नगरे पनि उनले सानै उमेरदेखि सिकेको सीपका आधारमा बिरामीहरूलाई निको पार्दै आएका छन् । मालिस (मसाज) मार्फत नशासम्बन्धी समस्या समाधान गर्ने उनकोमा दैनिक ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गर्छन् । यसरी आउनेमा आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल जान नसकेका र कतिपय अस्पतालमा उपचार गराउँदा पनि निको नभएका बिरामीहरू रहने गरेका छन् ।
“भारतको लखनऊसम्म पुगेर उपचार गराउँदा पनि निको नभएका टाढा–टाढाका बिरामी म कहाँ आउने गर्छन्,“ चौधरीले भने, “धेरैजसोलाई एकै पटकको मालिसले ठिक हुन्छ, अर्को पटक फर्किएर आउनु पर्दैन ।“ उनले हातखुट्टा र काँसीको हड्डी भाँचिएका व्यक्तिको समेत परम्परागत विधि र जडीबुटीको सहायताले सफल उपचार गर्दै आएका छन् । उनले थपे, “मलाई एक्सरे मात्र देखाइदिए पुग्छ, अहिलेसम्म मैले उपचार गरेर निको नभएको उदाहरण छैन ।“
अनुभवका आधारमा नशाको समस्या पत्ता लगाउन सिपालु चौधरीले भाँचिएको हड्डी जोड्न गाउँकै एक व्यक्तिले चिनाएको जडीबुटी प्रयोग गर्ने गरेका छन् । “छिमेकी बनकट्टा गाउँकी एक महिलाको खुट्टा भाँचिएर लखनऊ लैजाँदा डेढ लाख भारु लाग्ने बताएपछि उनीहरू फर्किए,“ वैद्य चौधरीले स्मरण गरे, “मैले डेढ खोरिया जाँडकै भरमा ती महिलालाई हिँड्ने बनाएर पठाएँ ।“
बिरामीले समस्या सुनाउनासाथ कुन ठाउँमा नशा च्यापिएको छ भन्ने ठम्याउनुहुने उनले विपरित दिशामा मालिस गरेर नशालाई सामान्य अवस्थामा ल्याउने गर्छन् । उपचारका लागि गौरीगङ्गा नगरपालिकाका शेरबहादुर चौधरी र धनगढीका अर्पण चौधरीले अस्पताल धाउँदा निको नभएको आफ्नो समस्या यहाँ आएपछि निको भएको अनुभव सुनाए ।
परम्परागत यस उपचार विधिलाई आधुनिक विज्ञानले स्वीकार नगरे पनि उनकोमा नशाको समस्या भएका डाक्टरहरूसमेत मालिस गराउन आउने गरेको चौधरीको दाबी रहेको छ । दाङदेखि बझाङ, बाजुरा र भारतका बिरामीहरू समेत उनकोमा पुग्ने गरेका छन् । उहाँले यी सबै सेवा निःशुल्क प्रदान गर्दै आएका छन् । “कसैले खुसी भएर जे दिन्छन्, त्यो मात्र लिने गरेको छु,“ उनले भने, “आजसम्म पैसा भने कसैसँग मागेको छैन ।“
गोरखापत्रबाट