जोशीपुर, २९ फागुन । सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्व भौतिक पूर्वाधार मन्त्री कैलाश चौधरीले आरक्षणको सवालमा प्रदेश सरकार गम्भीर नरहेको बताएका छन् ।
कैलालीको जानकी गाउँपालिका–४, मुनुवामा भएको छैठौं राष्ट्रिय कठरिया साँस्कृतिक होरी महोत्सव २०८१ लाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले प्रदेश सरकार आदिवासी जनजातिको सवालमा गम्भीर नरहेको बताएका हुन् ।
‘आरक्षणको सवालमा प्रदेश सरकार गम्भीर छैन, यहाँको विभिन्न निकायमा जनसंख्याको आधारमा आदिवासी जनजाति थारु समुदायकोे प्रतिनिधत्व हुनु पर्नेहो त्यो पनि भएको छैन । यसकार लाथि समुदाय एकजुट भएर लाग्नु पर्नेको विकल्प छैन’, उनले भने ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पूर्वमन्त्री चौधरीले देशका ठूला दलहरु नै संघीयता लागू गर्ने प्रति गम्भीर नरहेकाले संघीयता संकटमा परेको पनि बताएका थिए ।
सोही अवसरमा प्रमुख अतिथी चौधरीलाई लोप हुँदै गएको कठरिया लोककला, भाषा संस्कृति संरक्षण समवद्र्धनका लागि संग्राहलय निर्माण देखि भाषा सुचिकृत सहितका माग राख्दै पाँच बुँदे ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा सुदुर पश्चिम प्रदेश सरकारको आर्थिक सहियोगमा कैलारी गाउँपालिका वडा नं.–८ स्थित लौसा गाउँमा निर्माणको प्रक्रियामा रहेको कठरिया संग्राहलयलाई पुर्ण रुपमा निर्माण सम्पन्न गर्नका लागि अवश्यक बजेट व्यवस्थापन र सभाहल निर्माणका लागि माग गरिएको छ ।
त्यसैगरि लोप हुँदै गएको कठरिया भाषालाई संरक्षणका लागि रेडियो नेपालमा कठरिया भाषाको कार्यक्रम तथा समाचार लगायत कठरिया समुदाय र भाषालाई सुचिकृत गरिनु पर्ने, कठरिया समुदायमा बजाइने परम्परागत मौलिक बाजाको संरक्षण सम्बद्र्धनका लागि मौलिक बाजा बनाउने तथा बजाउने सीप मुलक तालिमका बजेट विनियोजन गरिदिन माग गरिएको छ ।
कठरिया समाज नेपालको आयोजना तथा मुनुवा गाउँसमाजको सहआयोजनामा होरी महोत्सव भएको हो । कठरिया समाज नेपालका अध्यक्ष दुखीराम कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा समाजकी उपाध्यक्ष गीता कठरियाले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा जानकी गाउँपलिकाका अध्यक्ष गणेश चौधरी, उपाध्यक्ष लालमति रावत कठरिया, मान बहादुर कठरिया, विभिन्न वडाध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
होरी महोत्सवमा तपा गाउँको आधुनिक होरी, मुनुवा, लक्कड गाउँको बन्ना नाच÷भगतुवा नाच, लौसा पबेरा, डहरविरिया, सिमरि गाउँको कलाकार होरी, चर्रा, सिसैया गाउँको मिचुवा होरी, तपा गाउँको आधुनिक कलाकार होरी, राष्ट्रिय गायक रमेश मिसन, राम कुमार कठरिया लगायत राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो ।