अविनाश चौधरी
धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशमा रहेको पन्छी ताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न वस्तुस्थिति अध्ययनको काम सुरु भएको छ ।
सिनियर इकोलोजिस्ट हरिभद्र आचार्यको नेतृत्वमा गठित कार्यदलले रामसार क्षेत्रमा सूचीकृत गर्न आवश्यक पर्ने मापदण्ड पहिचानको प्रारम्भिक काम थालेको हो । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो ताल रहेको छ । यसअघि सिकारी तालको नामले परिचित यसको नाम यसैवर्ष परिवर्तन गरेर पन्छी ताल राखिएको छ ।
पन्छी तालमा जलपन्छी धेरै पाइने गरेकाले विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न प्रारम्भिक प्रक्रियाको थालनी गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए । “तालमा धेरै चरा पाउँछन्”, उनले भने,“रामसार क्षेत्रमा सूचीकृत गर्न सकिन्छ कि भनेर अध्ययनको काम सुरु भएको छ ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४६५ प्रजातिका चरा पाइने गरेका छन् । विभिन्न समयमा गणना गर्दा पन्छी तालमा ५० देखि ५५ प्रजातिका हजारौं जलपन्छी अभिलेख भएका छन् । संरक्षित क्षेत्रमा रहेको यो ताल जलपन्छीका लागि महत्वपूर्ण रहेकाले रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि प्रारम्भिक कामको सुरुवात गरिएको हो ।
कुनै पनि सिमसारलाई रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि नौ वटा मापदण्ड तोकिएको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । त्यहि मापदण्ड पत्ता लगाउनका लागि आधार रेखा अध्ययनको काम सुरु गरेको कार्यदलका संयोजक सिनियर इकोलोजिस्ट आचार्यले बताए । “क्राइट एरिया मूल्याङ्कनका लागि सुरुवाती अध्ययनको काम भइरहेको छ”, उनले भने ।
आचार्यको अनुसार यो अध्ययन गर्न दुई वर्षभन्दा बढी समयसम्म लाग्न सक्छ । अध्ययनपछि सबै कुराको मूल्याङ्कन गरेरमात्रै रामसार क्षेत्रमा सूचीकृत लागि प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा कैलालीमा रहेको घोडाघोडी ताल विश्व रामसार क्षेत्रमा सूचीकृत भएको छ । हरिहाँस, मगर गोही र जङ्गली धान सूचक प्रजाति रहेको यो ताललाई २००३ अगस्ट १३ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । हाल यस ताललाई नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभयारण्य क्षेत्र बनाइएको छ ।
नेपाल १९८७ देखि रामसार महासन्धीको पक्ष राष्ट्र रहेको छ । यो महासन्धीले मापदण्ड पुगेका जुनसुकै सिमसारलाई रामसार क्षेत्रमा सूचीकृत गर्न सकिने व्यवस्था गरेको छ । विश्व रामसारमा सूचीकृत गर्नका लागि जलपन्छी, जलीय जैविक विविधता र सूचक प्रजाति महत्वपूर्ण अवयव रहेको चराविद् हिरुलाल डङ्गौराले बताए ।
यस्तो छ, मापदण्ड
रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि उपयुक्त भौगोलिक क्षेत्रभित्र पाइने प्राकृतिक वा नजिक प्राकृतिक सिमसारले दुर्लभ वा अद्वितीय सिमसारको रुपमा प्रतिनिधित्व गर्नु पर्ने र अन्तर्राष्ट्रिय महत्वको हुनु पर्ने समूह ए को मापदण्डमा उल्लेख छ ।
यस्तै, समूह बी मा जैविक विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय महत्वको स्थल हुनु पर्ने उल्लेख गरिएको छ । यस समूहमा प्रजाति र पारिस्थितिक समुदायमा आधारित मापदण्ड तीन वटा, जलपन्छीमा आधारित विशिष्ट मापदण्ड दुई वटा, माछामा आधारित विशिष्ट मापदण्ड दुई वटा र अन्य कुरामा आधारित विशिष्ट मापदण्ड एक वटा रहेको छ ।