१८ जेष्ठ २०८३, सोमबार June 1, 2026

कैलारीको के गाउँमा माघ मिलन तथा रैथाने थारु खाना प्रर्दशनी

१४ माघ २०८०, आईतवार
कैलारीको के गाउँमा माघ मिलन तथा रैथाने थारु खाना प्रर्दशनी

धनगढी, १४ माघ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ स्थित ‘के गाउँ’ मा माघ मिलन तथा रैथाने थारु खाना प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा सहास नेपालको सहकार्य र सहयोगमा थारु समुदायको रिति संस्कृति सम्बद्र्धन, स्थानीय खाना प्रवद्र्धनको लागि कार्यक्रम गरिएको हो ।


कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले थारु समुदाय आर्थिक रुपमा कम्जोर भएपनि रिति, कला सांस्कृतिक रुपमा धनी रहेको बताए ।
उनले भने, ‘थारु समुदायमा हरेक महिनामा गाउने गीतबाँस रहेको छ । भोजविवाहमा गाउने आफ्नै मौलिक गीतबाँस रहेको छ । धेरै किसिमका चाड पर्व रहेको छ, भेषभुषा, पहिरन, गरगहना रहेको छ । त्यो हाम्रो पहिचान हो ।’


परम्परागत रिति संस्कृति संरक्षण गर्न नसके हाम्रो पहिचान हराउने उनले बताए । थारु समुदायमा हरेक बर्षको माघ महिनामा चुनिने भल्मन्सा प्रथालाई कानूनी मान्यता दिनका लागि हामी तयार छौं,’ गाउँपालिका अध्यक्षले भने, ‘गाउँपालिकामा दर्ता भएको भल्मन्सा ऐनलाई संशोधन गर्दै भल्मन्साको हकअधिकार सुनिश्चित गर्न तयार छौं । भल्मन्सा बलियो भए मात्र गाउँ समाजको विकास गर्न सक्छन् ।’
भल्मन्सा गाउँको साझा व्यक्ति भएकोले गाउँ समाजको विकास निस्वार्थ भावानाबाट सेवा प्रदान गर्न उनले आग्रह गरे । रिति संस्कृतिसँग थारु समुदायको खानापानलाई संरक्षण र प्रवद्र्धन आवश्यक रहेको पनि गाउँपालिका अध्यक्ष चौधरीले बताए ।


कार्यक्रममा वडा नम्बर ६ वडा अध्यक्ष प्रेमबहादुर चौधरी थारु सम्ुदायको रैथाने खानाको सम्बद्र्धनको साथै रिति संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा सहास नेपालको परियोजना अधिकृत नरेश चौधरी, जनकल्याण माविका प्रअ हनुमान चौधरी, नागरिक उन्मुक्ति पार्टीका जगमानु चौधरी, गाउँपालिका स्तरीय भल्मन्सा समितिका संयोजक सन्तराम चौधरी लगायत थारु समुदायको रिति संस्कृति थारु समुदायको पहिचान र सान रहेको यसलाई बचाउनु पर्नेमा जोड दिएका थिए ।


वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले वडा कार्यालयबाट प्रत्येक बर्ष रिति संस्कृति संरक्षणका कार्यक्रम गर्दै बताए । उनले भने, ‘माघ मिलन कार्यक्रमबाट गाउँ ठाउँमा रहेको परम्परागत रिति संस्कृति देखाउने अवसर मिल्छ । जुन लोप हुदै गएको संस्कृतिलाई फेरि जिवित राख्न मौका पनि मिल्छ ।’
कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव श्रीप्रसाद चौधरी र संचालन सविता चौधरी, वृक्षलाल चौधरीले गरेका थिए ।


माघ मिलन तथा रैथाने थारु खाना प्रर्दशनीमा थारु समुदायको गीतबाँस, संस्कृति सरक्षक महालोक गायक मनिराम करिया मघरियाको बेजोड प्रस्तुतीबाट दर्शक र कार्यक्रमका सहभागी अतिथिहरुलाई झुमाएका थिए । उनले सचेनामुलक व्यङयात्मक गीतदेखि सजना र आधुनिक गीत पनि प्रस्तुतीकरण गरेका थिए ।


त्यसै गरी कार्यक्रममा जनकल्याण माविका स्वागत गीत, आधुनिक सखिया, झुम्रा नाँच, वडा नम्बर ४ का बजारी टोलको झुम्रा नाँच, नवलपुरको धमार गीत, झुम्रा नाँच, भित्तरिया गाउँको सोरठी नाँच, डङवा टोलको झुम्रा नाँच, अमर टोलको झुम्रा नाँच प्रस्तुत भएको थियो ।


त्यस्तै असिना टोल, मुडा टोलको सखिया नाँच, झुम्रा नाँच, प्रगति टोलको धमार गीत, खल्ला टोलको कठघोरी, झुम्रा नाँच, सुन्दरपुर टोलको झुम्रा नाँच, सहास नेपालको आधुनिक मघौटा नाँचमा प्रस्तुती, पश्चिम खेडा टोलको धमार, भक्तजनबाट भजनकृतन, पश्चिम खेडा टोलको धमार, कान्छा टोलको धमार र असिना टोलको भल्मन्सा जुगराम चौधरीले बरकीमार गीत प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य लालबहादुर विक, वडा सदस्य लक्ष्मी चौधरी, मोहालाल चौधरी, हरिद्वारी चौधरी, सुवा परियार, राजनितिक दलका प्रतिनिधि, भल्मन्सा, समुदायिक वनका अध्यक्षलगायत गाउँका बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।