धनगढी, १० माघ । थारू समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा माघ महोत्सव हुने भएको छ ।
‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँमा तीनदिने माघ महोत्सव आयोजना हुने भएको हो ।
थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति र बरघर भलमन्सा नगरसमितिको आयोजनामा माघ १२, १३ र १४ गते महोत्सव आयोजना गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।
‘थारू समुदायको पहिचानसँग जोडिएका लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन, बोलीभाषा, लवाई खवाई दिनप्रति दिन हराउँदै गएको छ, त्यसलाई संरक्षण सम्वद्र्धनका लागि महोत्सव आयोजना गरिन लागेका छौैँ’,उनले भने ।
थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक बस्तुहरु जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिन लागेको बताए । यसका साथै उनले स्थानीय पर्यटन, आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए ।
उनले भने,‘थारू समुदाय लोककला, रितीसंस्कृति र ऐतिहासिक बस्तुहरुको जगेर्ना र स्थानीय पर्यटन तथा आधुनिक कृषि प्रर्वद्धनका लागि महोत्सवको आयोजना गर्न गइरहेका छौँ । यसमहोत्सवले समाजको लागि सकारत्मक भूमिका खेल्ने छ ।’
महोत्सवको प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय भाँकीहरू प्रदर्शनका साथै थारू राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवमा ऐतिहासिक थारू खानपानको व्यवस्था, थारू कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारू समाज सेवा तथा प्रतिभावान व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने छ । महोत्सवमा २६ गाउँका थारू नाच प्रस्तुत हुने पनि आयोजकले जनाएको छ । पाँच लाख अनुमानित लगानीमा हुन लागेको महोत्सवमा हजारौँले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।