धनगढी, ८ माघ । कैलारी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनीति योजना बनाउने भएको छ ।
याक नेपाल र सहास नेपालको संयूक्त आयोजनामा सोमबार हसुलियामा भएको खाद्य तथा पोषण सुरक्षा रणनीति योजनाको अवधारण तथा सान्र्दर्भिकता विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी चाँडै रणनीतिक योजना निर्माण गर्ने बताए । उनले भने,‘यहाँ खाद्य तथा पोषण सुरक्षा रणनीति योजना नहुदाँ गैर किसान बढी हावी भएका छन् । वास्तविक किसानले उत्पादन गरेका खाद्य बस्तुले बजार मुल्य पाएको छैन् । भारतबाट खाद्य बस्तु तथा तरकारी आयत हुँदा यहाँका किसान मारमा परेका छन् ।’

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी बजार माग अनुसार किसानलाई उत्पादन तर्फ उन्मुख गराउन जरुरी रहेको बताइन् । साथै किसानले उत्पादन गरेको बस्तु भण्डारण नहुँदा उचित मुल्य नपाएको उनले बताइन् । उनले भनिन्, ‘किसानले उत्पादन गरेका बस्तु बजारमा फालाफाल हुन्छ । भण्डारण गर्ने गोदाम नहुँदा उनीहरु लागतभन्दा सस्तोमा बिक्री गर्न बाध्य हुन्छन् । पछि आफुलाई आवश्यकता पर्दा महंगो मुल्यमा खरिद गर्न बाध्य हुन्छन् ।’
आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी यहाँका उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान तथा फर्महरु धमाधम बन्द भइरहेको बताए । उनले भने, ‘कैलारी गाउँपालिकामे पहिले धेरै कुखुरा फार्म थिए । भारतबाट चोरी पैठारी गरि ल्याएका कुखुरा सस्ता मुल्यमा बिक्री हुदाँ यहाँका फार्म र व्यवसायी पलायन भएर भारत वा विदेश जान बाध्य भएका छन् ।’
वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी साना किसानलाई अनुदान नदिदा गैरकिसान कागज मिलाएर फाइदा लिई रहेको बताए । यसका साथै उनले कृषि मुल्य तोक्ने निकाय नहुदाँ किसानले उत्पादन गरेको बस्तु लागत अनुसार मुल्य नपाएको बताए ।
कार्यक्रममा सहास नेपालका कार्यकारी निर्देशक डा. सुरेन्द्रकुमार श्रेष्ठ, याक नेपालका कार्यकारी निर्देशक डबलबहादुर बम, याक नेपालका कार्यक्रम संयोजक विनोद सिंह, कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐर लगायतले धारणा राखेका थिए ।
कैलारीको खाद्य तथा पोषण सुरक्षा योजना निर्माणका लागि कैलारी गापा र सहास नेपालको आर्थिक तथा याक नेपालको प्राविधिक सहयोग रहने निर्णय भएको छ ।