हसुलिया, २३ पुस । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ दिपेन्द्र माविमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
कैलारी गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता भएको हो । गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सोमबार एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा सहभागिता गराउन आवश्यक रहेको बताए ।

उनले भने, ‘खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउँछ । जुन विद्यार्थीमा अनुशासन छ, उसले खेलसँगै आफ्नो अध्ययन पनि सजिलै पुरा गर्न सक्छ ।’
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले खेलकुदको माध्यमबाट विद्यार्थीलाई शारिरीक विकासमा टेवा पुर्याएको बताइन् । उनले भनिन्, ‘विद्यार्थीको शिक्षा जस्तै खेलकुद पनि अनिवार्य हो । खेलकुदले व्यक्तिको शारिरीक व्यायममा सहयोग पुर्याउछ ।’

सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ३ का वडा सन्तराम चौधरी खेलकुद क्षेत्रमा अगाडी रहेका विद्यार्थी अथवा व्यक्तिले सरकारको सुरक्षा निकायमा सजिलै प्रवेश पाउने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, कैलारी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख गणेश प्रसाद मिश्र, दिपेन्द्र माविका प्रअ विनोद भट्टराई, शिक्षक नारायण ढकाल लगायत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन कैलारी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख यगम कलेलले गरेका थिए ।
प्रतियोगितामा गाउँपालिका अन्र्तगतका सामुदायिक विद्यालयका ९ र संस्थागत विद्यालयका चार गरि १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
