८ बैशाख २०८३, मंगलवार April 21, 2026

प्लान्ट क्वारेण्टिन सञ्चालन गर्न उद्योगीहरुको आग्रह

२६ भाद्र २०८०, मंगलवार
प्लान्ट क्वारेण्टिन सञ्चालन गर्न उद्योगीहरुको आग्रह

धनगढी। कैलाली भन्सार कार्यालयबाट हटाएको प्लान्ट क्वारेण्टीन पुनः सञ्चालन गर्न सुदूरपश्चिमका उद्योगी तथा व्यवसायीहरुले सरकारसंग आग्रह गरेका छन् ।
सुदूरपश्चिम उद्योग वािणज्य महासंघका अध्यक्ष शंकर बोगटीको नेतृत्वमा काठमाण्डौं पुगेका उद्योगी, व्यवसायीहरुको टोलीले कृषि मन्त्री बेदुराम भुसाल, कृषि सचिव लगायतलाई भेटेर तत्काल प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि आग्रह गरेका हुन् ।
सोमबार कृषि मन्त्री भुसाल, कृषि सचिव बिनोद शर्मासंगको भेटमा महासंघका प्रदेश अध्यक्ष बोगटी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष मनोज अग्रवाल, उपाध्यक्ष दिनेश लम्साल र दाना उद्योगीहरुको टीमले प्लान्ट क्वारेण्टीन सञ्चालन नभए केही समयभित्र सुदूर पश्चिमका सम्पूर्ण उद्योगहरु बन्द हुने बताएका थिए ।
तर कृषि सचिव शर्माले भने कुनै पनि हालतमा प्लान्ट क्वारेण्टीन सञ्चालन गर्न नसकिने बताए । प्रधानमन्त्री र राष्ट्रपतिले भनेर पनि प्लान्ट क्वारेण्टीन सञ्चालन गर्न नसकिने कृषि सचिव शर्माले अडान सुनाए ।
कृषि सचिव शर्माले बिगतमा प्लान्ट क्वारेण्टीन अबैध रुपमा सञ्चालनमा रहेको र सो कार्यलाई निरन्तरता दिन नसकिने बताए । महासंघका प्रतिनिधि तथा उद्योगीहरुले महेन्द्रनगरमा सञ्चालनमा रहेको प्लान्ट क्वारेण्टीनको क्षेत्राधिकार भित्र धनगढी नाकालाई राख्न गरेको अनुरोध पनि कृषि सचिव शर्माले स्वीकार गरेनन् ।
उनले धनगढी नाकामा प्लान्ट क्वारेण्टीन कुरा राजपत्रमा उल्लेख गरिनु पर्ने अन्यथा राख्न नसकिने स्पष्ट पारे । महासंघका अध्यक्ष बोगटी लगायतको टीमले कृषि मन्त्रीलाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओझाले सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरमा सञ्चालित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र बन्द भएका कारण भारतबाट आयात हुने खाद्यान्न, फलफूल र तरकारी आयात ठप्प भएको र प्लान्ट क्वारेन्टाइन सुचारू गर्नका लागि नेपाल उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी र कैलाली उद्योग बाणिज्य संघको टीमले प्रधान मन्त्री पुष्प कमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत, कृषिमन्त्री बेदुराम भुसालसंग भेट गरी प्लान्ट क्वारेन्टाइन यथासीघ्र संचालनका लागि माग गरेको बताए । ओझाले प्रधानमन्त्री र अर्थमन्त्रीले यथासिघ्र क्वारेन्टाइन सुचारू गर्ने आस्वासन दिएको बताए ।