धनगढी । भजनी नगरपालिकामा अविरल बर्षाका कारण बाढी प्रभावितलाई खाद्यान्न सहगोग गरिएको छ ।
दिगो विकास समाज भजनी, बालकल्याण संघ टीकापुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले १,७५० किलो चामल, २१० किलो दाल, ७० किलो नुन, १४० लिटर खाने तेल सहयोग गरेको हो ।
भजनी नगरपालिकाकाका नगर प्रवक्ता तथा वडा नं.३ का वडा अध्यक्ष विक्रम चौधरीलाई दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र देव भट्ट, भजनी नगरपालिकाका बिपत शाखाका प्रमुख विष्णु न्यौपाने, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा का सभापति राम नारायण चौधरी, कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट, वर्ल्ड भिजन इन्टरनेसनल नेपालका तर्फ बाट स्पोंसोरशिप फिल्ड संयोजक मंगल शाह, बाल कल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापक सुगम रेग्मी, दिगो विकाश समाजका कार्यक्रम संयोजक सन्त राम चौधरी, अनुगमन तथा मुल्यांकन अधिकृत राज कुमार चौधरी, परियोजना अधिकृत बिनोद शाह, कर्मचारी, पत्रकार समेतको उपस्थिति रहेको थियो ।
बिशेषगरि भजनी वडा नं ३ का बाढीबाट बिस्थापित घर परिवारलाई आपतकालीन राहत सहयोग स्वरूप खाध्यान्न सहयोग गरिएको बाल कल्याण संघ टीकापुरका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले बताए । त्यसैगरि बाढीबाट प्रभावित र बिस्थापित रहेका र भजनी नगरपालिकाद्वारा संचालित आकस्मिक सुरक्षित भवनमा आश्रय लिरहेका ४४ जना बालबालिका तथा गर्भवती महिलालाइ पनि २२५ किलो चामल, १८ किलो आयो नुन, २७ किलो दाल र ९ लिटर खाने तेल सहयोग गरिएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालका मंगल शाहले बताए ।
यस विपद को घडीमा बालकल्याण संघ टीकापुर, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र दिगो बिकास समाजद्वारा वितरण गरिएको राहत सामग्रीले बिस्थापित घरधुरीलाइ धेरै नै सहयोग र राहत दिने र उक्त ३ संस्था बिगतका दिनहरुमा पनि र विपदको अवस्थामा सहयोग गर्दै आएको वडा नं. ३ क वडा अध्यक्ष तथा चौधरीले बताए । यसैगरि टीकापुर नगरपालिका अन्तर्गतका वडा नं ६ र ७ का ६ वटा प्रभावित घरधुरीलाई पनि राहत सामग्री वितरण गरिएको छ ।