धनगढी, ९ पुस । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादा गाउँमा १३औँ थारू होमस्टे महोत्सव २०८२ आयोजना हुने भएको छ ।
थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुने जनाएको छ । समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले मंगलबार पत्रकार सम्मेलन मार्फत महोत्सव बारे जानकारी दिएका हुन् ।
’संरक्षण सम्वद्र्धन के लागि सक्कुजन करी काम, संस्कृति भेष भूषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ यस वर्षको महोत्सव आगामी पुस १७ गतेदेखि २१ गतेसम्म (सन् २०२६ जनवरी १ देखि ५ सम्म) सञ्चालन हुनेछ । महोत्सव धनगढी–१६ स्थित श्री दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिनेछ ।
महोत्सवलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि मूल आयोजक समिति, सल्लाहकार समिति र ९ वटा विभिन्न उपसमितिहरू गठन गरिएको छ । महोत्सवको मुख्य उद्देश्य विशेष गरी थारू जातिको परम्परा, संस्कृति, खानपान, भेषभूषा, र सीपकलाको संरक्षण तथा जगेर्ना गर्नु रहेको छ । साथै, स्थानीय स्तरमा स्वरोजगारको अवसर सिर्जना गर्ने र थारू जातिको पहिचानलाई पर्यटन व्यवसायमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य राखिएको छ ।
महोत्सवका प्रमुख आकर्षणहरू
यस वर्षको महोत्सवमा अवलोकनकर्ताहरूका लागि विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ ।
सांस्कृतिक प्रस्तुतिः प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट थारू नाचगानका साथै डगौरा थारू, राना थारू, कठरिया थारू लगायत अन्य समुदायका सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् । त्यसैगरि खानपान र सीपः दैनिक रूपमा थारू खानपानका परिकारहरू उपलब्ध हुनुका साथै थारू सीपकला, भेषभूषा र प्रत्यक्ष हस्तकलाको प्रदर्शनी गरिने जनाएको छ ।
साथै अवलोकन भ्रमणका लागि थारू देउथान, लहरूमा गाउँ र थारू संग्रहालयको अवलोकन भ्रमणको व्यवस्था मिलाइएको छ ।
त्यसैगरि महोत्सवको अवसरमा खेलकुद र मनोरञ्जनः खुल्ला भलिबल प्रतियोगिता, रमाइलो मेला (काठे पिङ, शयर), फोटो प्रदर्शनी र कृषि प्रदर्शनी महोत्सवका थप आकर्षण रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
थारू सामुदायिक होमस्टे गाउँ भादाको प्रचार–प्रसार गर्ने र विभिन्न जातजाति तथा देश–विदेशका नागरिकहरूबीच सामाजिक सद्भाव कायम गर्ने लक्ष्य लिएको यस महोत्सवमा करिब १ लाख जना अवलोकनकर्ताहरू सहभागी हुने आयोजकको अपेक्षा गरिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबाट महोत्सवको समुद्घाटन गराउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भादा गाउँका २० घरमा हाल होमस्टे सञ्चालनमा रहेका छन् जसले पाहुनाहरूलाई मौलिक थारू आतिथ्यता प्रदान गर्नेछन् ।