धनगढी, २८ मंसिर । सुदूरपश्चिममा पछिल्लो समय बढ्दै गईरहेको मानसिक स्वास्थ्य समस्यालाई प्रवर्द्धन तथा न्यूनीकरण गर्ने कार्यलाई अगाडि बढाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना तयार गर्ने भएको छ ।
विहीबार धनगढीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.–नेपाल) द्वारा आयोजित प्रदेश स्तरीय बार्षिक समिक्षा कार्यक्रमबाट देखिएको प्रभावकारीतालाई आत्मसात गर्दै उक्त निर्णय गरिएको हो । उक्त कार्यक्रममा घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावत ले मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गईरहेको कुरा औल्याउँदै भने, “यो समस्या व्यापक रुपमा बढ्दै गईरहेको छ । हामीले हाम्रो नगरपालिकाबाट मानसिक स्वास्थ्यको प्रबर्द्धन गर्ने कार्यमा सी.एम.सी. नेपालसंग मिलेर काम अगाडि बढाएका छौँ । मानसिक स्वास्थ्य प्रबर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकार ले कार्यक्रम बनाएर अगाडि बढाउनु पर्छ ।“
उनले अगाडि भने, “अहिले मानसिक स्वास्थ्य समस्याको औषधी खरिद गर्ने अख्तियारी स्थानीय सरकारलाई छैन । प्रदेश सरकार मार्फत स्थानीय सरकारलाई उपलव्ध गराउनु पर्ने नीतिगत व्यवस्था छ । तर समयमा प्रदेशबाट आपूर्ति हुन नसक्दा जनतालाई सास्ती भईरहेको छ । छिटो र सहज आपूर्तिका लागि स्थानीय सरकारलाई अख्तियारी दिए, हामी औषधी खरिद प्रक्रिया अगाडि बढाउँछौँ ।“
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका झंकर बहादुर रावलले मानसिक स्वास्थ्य समस्यालाई प्रवर्द्धन गर्ने कार्यका लागि प्रदेश सरकारले रणनीति र कार्ययोजना बनाएर अगाडि बढाउनु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै गरी मानसिक स्वास्थ्य स्वावलम्वन समुह जिल्ला सञ्जालका अध्यक्ष सालीभान खातीले आफु मानसिक स्वास्थ्य समस्याबाट पीडित परिवारको सदस्य बताउँदै समयमा सरकारले औषधी व्यवस्थापन र समुदाय स्तरमा व्यापक जनचेतना अभावले अझै धेरै व्यक्तिहरु उपचार सेवाबाट वञ्चित रहेको बताए । उनले प्रदेश सरकारलाई स्थानीय स्तरबाटै मानसिक स्वास्थ्यको उपचार र मनोपरामर्श सेवाका जनशक्ति तथा औषधी व्यवस्थापन गर्न अनुरोध समेत गरे ।
सी.एम.सी नेपालले यस प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी र बझाङ जिल्लामा सञ्चालन गरी रहेको प्रबर्द्धन परियोजना, शसक्त महिला समृद्ध नेपाल र लैंगिक हिंसा प्रतिकार्य कार्यक्रम मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने कार्यमा सहयोग पुर्याउँदै आईरहेको छ ।
उक्त कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणी पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, मन्त्रालयका विषयगत महाशाखाका प्रमुखहरु, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, पत्रकार, स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सी.एम.सी नेपालका प्रादेशिक संयोजक हिमाल गैरे प्रदेशमा गरिएका क्रियाकलापबाट हासिल गरिएका उपलब्धि एवं मानसिक स्वास्थ्य अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।