धनगढी, २६ मंसिर । कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–३ का ४० वर्षीय चौधरी धनगढीबाट हसुलियातर्फ जाँदै गर्दा उनले चलाएको सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको डल्लबमा पछाडिबाट ठोक्किएको थियो
धनगढी उपमहानगरपालिका–१४ बी गाउँका अन्दाजी ३५ वर्षीय सन्तोष सार्कीले चलाएको डल्लपमा मोटरसाइकल ठोक्किएर गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । डल्लबसहित चालक सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक चौधरी आधारभूत स्वास्थ्य केन्द्र मनाउँमा प्रमुखको रुपमा कार्यरत थिए ।
यसै बिच कैलारी गाउँपालिकाले चौधरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंसिर २७ गते एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, वैंक तथा वित्तिय संस्थाहरुमा शोक बिदाका लागि सूचना प्रकाशित गरेको हो ।
यस्तै, गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गमा भएको दुर्घटनामा हास्य कलाकार ३० वर्षीय हिक्मत महराको ज्यान गएको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ निवासी उहाँले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।
धनगढी उपमहानगरपालिका–४ बोराडाँडी बस्ने ५४ वर्षका नन्दसिंह बोहराले चलाएको सुपप्र ०१–००१ क २०६० नम्बरको खाली ट्रकको ठक्करबाट घाइते महराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
महरा कमेडी च्याम्पियनको दोस्रो संस्करणमा उत्कृष्ट चारमा पुगेर बाहिरिएका थिए । ट्रकसहित बोहरलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै, टीकापुर नगरपालिका–८ फाँटास्थित हुलाकी सडक खण्डमा सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँटा पछाडि सवार टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको ज्यान गएको छ । मोटरसाइकल चालक रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । उहाँको टाउकोमा चोट लागेको जनाइएको छ ।