धनगढी, २६ मंसिर । नेपालमा वैदेशिक रोजगारी तथा अन्य कारणले व्याप्त रुपमा बढ्दै गरेको मानसिक स्वास्थ्य समस्या अनुभव गरेका व्यक्तिहरुको मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले घोडाघोडी नगरपालिका भित्रका ९ जना वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई जीविकोपार्जन सहयोग हस्तान्तरण गरिएको छ ।
जीविकोपार्जन हस्तान्तरण घोडाघोडी नगरपालिकाका नगरप्रमुख खड्क बहादुर रावत ले गरेका हुन । फेल्म नेपालको आर्थिक सहयोग र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र(नेपाल (सी.एम.सी.–नेपाल) तथा घोडाघोडी नगरपालिका विचको समझदारीमा (सन २०२२ देखि २०२५ सम्म) सञ्चालनमा रहेको “प्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्य प्रबर्द्धन परियोजना अन्तरगत उक्त सहयोग गरिएको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा नगरप्रमुख रावतले सी.एम.सी.–नेपालको कार्यक्रमबाट सेवाग्राहीहरुले राम्रो लाभ लिईरहेकोले कार्यक्रमको निरन्तरताको लागि जोड दिए । उनले भने, “यो कार्यक्रमले गर्दा हामीलाई पनि मानसिक स्वास्थ्यको बारेमा बुझ्न सहजता भएको छ । हाम्रो यस नगरपालिकाको प्राथमिकता क्षेत्र शिक्षा र स्वास्थ्य हो ।“
उनले अगाडि थप्दै भने, “ हामीले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने कार्यका लागि बजेटहरु बृद्धि गर्दै लागेका छौँ । एक हप्ता भित्र घोडाघोडी नगरपालिका स्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति पनि राजपत्रमा प्रकाशन गरी कार्यन्वयनमा लैजान्छौँ ।“
आयमुलक क्रियाकलापबाट मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुलाई समस्याबाट निको भई बाहिर निस्कनका निम्ती सहयोग पुग्नका साथै आयका कारण हुने सम्मानित जीवनका रुपमा लिने भएका कारण सम्भावित जोखिमलाई समेत न्यूनीकरणमा सहयोग पुग्ने गरेको पाईन्छ ।
उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रवक्ता घनश्याम ओझा, वडा नं. ३ अध्यक्ष कृष्ण प्रसाद गौतम, सी.एम.सी.–नेपालका कार्यसमिति सचिव महन्तबाबु महर्जन, प्रादेशिक संयोजक हिमाल गैरे लगायतको सहभागिता रहेको थियो ।