धनगढी, ५ पुस । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।
यही पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटन व्यवसायमार्फत थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु ¥य ाउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण बखरियाले जानकारी दिए । उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार पनि हुने बताए ।
महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने आयोजकले जानकारी दिएको छ । महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष बखरियाले बताए ।
सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो । हाल सो गाउँको १९ घरमा घरबास छ ।