७ फाल्गुन २०८१, बुधबार February 19, 2025

थारू गाउँमा दर्शकको घुइचो

२६ मंसिर २०८०, मंगलवार
थारू गाउँमा दर्शकको घुइचो

धनगढी, २६ मङ्सिर । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा रहेको थारू गाउँमा दर्शकहरुको भीडभाड बढेको छ ।
थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ राखिएको थारू गाउँको प्रदर्शनीमा दर्शकहरुको घुँइचो लागेको हो । थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो ।


थारू गाउँ प्रदर्शनी स्थलमा विभिन्न वस्तुको अवलोकनदेखि लिएर परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ । घोँगी, ढिक्री, माछा, बङ्गुरको मासुलगायतका परिकारको स्वादसँग रमाउन सकिन्छ । प्रदर्शनीले लोप हुँदै गइरहेको पुरानो कला, संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास प्रदर्शनीका संयोजक हेमन्त चौधरीको छ । उनले भने, “हाम्रो थारू समुदायको कतिपय संस्कृति, संस्कार, चिजबिज हराइरहेका छन् । त्यस्तो चिजको संरक्षण गर्ने उद्देश्यले थारू गाउँ प्रदर्शनी गरिएको हो ।”


प्रदर्शनीमा थारू सङ्ग्रहालय पनि राखिएको छ । सङ्ग्रहालयमा थारू समुदायको पहिचान र संस्कृति झल्काउने चिजहरू छन् । चिटिक्क परेको माटोको घरमा रहेको सङ्ग्रहालयमा ढकिया, छिट्नी, लहरू, गोलरा, किल्वाही, खैलर, डोक्नी, करै, सिकहा, टुइयाँ, ढक्ली, डेलवा, पिर्का, सोनकरै, हसियाँ, हेल्का, डिलिया, ढरिया, जाललगायतका सामग्री अवलोकनका लागि राखिएको छ । डोली, डोला, चनडोला प्रदर्शनीका लागि राख्नुका साथै दुई वटा अटुवा तयार पारिएको छ ।


थारू गाउँको अवलोकनका लागि आएका अवलोकनकर्ताले थारू पहिरन लेहेङ्गा, चोलिया, धोती लगाएर अटुवामा बसी रमाएको संयोजक चौधरीले जानकारी दिए । थारू गाउँ प्रदर्शनी स्थलमा हरेक दिन परम्परागतदेखि लिएर आधुनिक थारू सांस्कृतिक कार्यक्रममा दर्शकहरु रमाइरहेको पनि उनले बताए ।