४ असार २०८३, बिहीबार June 18, 2026

कैलारीमा डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम

४ असार २०८३, बिहीबार
कैलारीमा डिजिटल साक्षरता क्षमता विकास कार्यक्रम

धनगढी, ४ असार । कैलारी गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयलाई डिजिटल साक्षरता सम्बन्धी जानकारी गराएको छ ।
पछिल्लो समय साईबर अपराधका घटना बढ्दो क्रममा रहेको र सो अपराधबाट गाउँघरका सोझासिधा स्थानीयहरु पनि प्रभावित बन्दै गएको समस्यालाई मध्यनगर गर्दै त्यस्तो अपराधबाट सचेत बनाउन डिजिटल साक्षरता बारे जानकारी गरिएको हो ।
कैलारी गाउँपालिका वडा नं. ३ को कार्यालयको आर्थिक सहयोग तथा संघारी मल्टिपल सर्भिस एण्ड रिसर्च प्रालिको आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि वडा सदस्य सैतु चौधरी रहेका थिए ।

उनले आफ्नो वडा भित्रका स्थानीयहरुलाई डिजिटल अपराधबाट जोगाउनको लागि यस्तो कार्यक्रमको आयोजना गरेको बताए । उनले वडाको बजेटबाट भौतिक विकासको काम मात्रै नभई मानवीय विकासमा पनि खर्च गर्दै आएको जानकारी दिए ।
यस्तै कार्यक्रममा वडा सदस्य पार्वति विक, वडा सदस्य सकुन्तला चौधरीले वडामा समय अनुसार हिंसाका प्रकारहरु पनि फरक फरक देखा पर्ने भएकोले साईबर अपराधबाट बच्न यहाँका स्थानीयलाई सचेत हुन जरुरी रहेको बताए ।


कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका साईबर ब्यूरोका जिवन चौधरीले डिजिटल हिंसाको बारे प्रशिक्षण दिएका थिए । उनले पछिल्लो अवस्थामा डिजिटलबाट धेरै मान्छे हिंसा, ठगी, अपराधको जोखिमा रहेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवति कुमारी चौधरीले प्रशिक्षण दिदै न्यायक समितिमा पनि डिजिटल हिंसाबाट प्रभावित भएकाहरु न्यायको लागि आउने गरेको जानकारी दिईन् ।


उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सुरक्षाको कुरालाई पनि ध्यानमा राखि सामाजिक सञ्जाल चलाउन अनुरोध गरिन् । साथै कोही मान्छे आफू साईबर अपराध वा हिंसाको जोखिममा पर्न थालेको थाहाँ पाएमा तुरुन्तै सम्बधित निकायलाई जानकारी गराउन सुझाब दिईन् ।
कार्यक्रममा गाउँको भलमन्सा, आमा समुहका प्रतिनिधि, महिला नेतृत्व, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । उनीहरुले अगामी दिनमा कैलारी गाउँपालिकाले बालबालिकाहरुलाई लक्षित गरेर यस्तो कार्यक्रम सञ्चालन गर्न सुझाब दिएका थिए ।