३० असार २०८२, सोमबार July 14, 2025

‘रुपान्तरण अभियानले जनतामा नयाँ उत्साह थपेको छ’

२२ मंसिर २०८०, शुक्रबार
‘रुपान्तरण अभियानले जनतामा नयाँ उत्साह थपेको छ’

धनगढी, २२ मङ्सिर । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित घसिटा गाउँमा आज आयोजित नेकपा (माओवादी) केन्द्रको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
माओवादी पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि आफूले नै केन्द्रीय समितिमा प्रस्ताव राखेर रुपान्तरण अभियान सञ्चालनका लागि सर्वसम्मत निर्णय गराएको प्रधानमन्त्रीको भनाइ छ ।
उनले यो अभियानमा पूर्वका नेतालाई पश्चिम, पश्चिमकालाई पूर्व, हिमालकालाई तराई–मधेस र तरार्ई–मधेसका नेतालाई हिमाल पहाडका वडामा खटाएर अभियान जारी राखेको बताए । “यो अभियान अब अन्तिम चरणमा पुगेको छ । अभियान सकिएपछि विधान सम्मेलन गरेर फेरि अर्को कार्यक्रम गर्ने भनेका छौं ।”
अभियानले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्नुका साथै जनतामा पनि नयाँ उत्साह थपेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले अभियान सकिएपछि अन्तिम सम्मेलन गर्ने र देशभरिको प्रतिवेदन लिएर फेरि अर्को अभियान अगाडि बढाउने चर्चा गरे । “यो अभियानले पार्टीको शक्तिलाई अझ वृद्धि गर्नमा सफलता प्राप्त गर्नेछ” उनले भने ।
यसैगरी, नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत र चीनको भ्रमणपछि अमेरिकाको भ्रमण गरेको बताए । रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) को अध्यक्ष एवम् मुलुकको प्रधानमन्त्रीको हैसियतले आफूले सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकाको वडा १६ मा पुगेको प्रचण्डको भनाइ थियो ।

उनले यो आफ्नो छैटौं वडा रहेको उल्लेख गर्नुहुँदै बाँकी रहेको कोशी प्रदेशको कुनै एक वडामा पनि आफू पुग्ने बताए ।
यस्तै, फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउनु पर्ने, बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने, जाखोर तालमा पिकनिक स्थल बनाउनुपर्ने मागप्रति आफू सकारात्मक रहेको बताए ।
यसैगरी, धनगढी उपमहानगरपालिका –१५ देखि बनकटीसम्म १५ किलोमिटर कालोपत्रे कृषि सडक निर्माण, धुरजन्ना–डुमलिया जोड्ने शिवगंगा नदीमा मोटरेबल पुल निर्माण, कैलारी–९ सिमराना, कोइलही, गदरिया जोड्ने घुरहा नदीमा पुल निर्माणको मागप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । “तपाईंहरुको माग पूरा गर्न अधिकतम पहल गर्ने विश्वास दिलाउन चाहन्छु” उनले भने ।