७ फाल्गुन २०८१, बुधबार February 19, 2025

भोलि देखि सुदूरपश्चिम महोत्सव

२१ मंसिर २०८०, बिहीबार
भोलि देखि सुदूरपश्चिम महोत्सव

धनगढी, २१ मंसिर । चाडपर्वकै रुपमा लिइने सुदूरपश्चिम महोत्सव भोलिदेखि सुरु हुने भएको छ ।
महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजक कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउने भएका छन् ।


अध्यक्ष कुँवरले भने, ‘‘प्रधानमन्त्री आउने भएपछि महोत्सवको गरिमा अझै बढ्नेछ, यस क्षेत्रका व्यवसायीहरुले भोग्नुपरेका समस्या र अहिलेको अवस्थाबारे प्रधानमन्त्रीसँग व्यवसायीले कुरा राख्न पाउनेछन् । उद्योग वाणिज्य संघले पनि यसक्षेत्रका व्यवसायीहरुका समस्या प्रधानमन्त्री समक्ष राख्नेछन् ।’’
अध्यक्ष कुँवरले प्रधानमन्त्री आउने तय भएपछि त्यही अनुसारको तयारी गरेको जानकारी दिए । ‘‘विगतका वर्ष झैं यो पटक पनि प्रमुख अतिथिलाई पूरा नभएका मागहरुको बारेमा जानकारी गराउने संघको तयारी रहेको छ, उनले भने ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवस्थलमा चार सयवटा व्यावसायिक स्टल रहने जनाइएको छ । महोत्सवमा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने संघले अनुमान गरेको छ ।
महोत्सवमा व्यावसायिक कृषि तथा स्थानीय कला, संस्कृतिको प्रदर्शनलाई प्राथमिकता दिइने अध्यक्ष कुँवरले बताए । १७ वर्षदेखि बर्सेनि हुँदै आएको महोत्सवले यहाँको कृषि, कला, संस्कृतिसँगै सुदूरपश्चिमका सम्भावनाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संघको दाबी रहेको छ ।
यसपालिको महोत्सवमा पनि स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको अध्यक्ष कुँवरले बताए । ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, संस्कृति, कला, खानपान, भाषाको संरक्षणमा महोत्सवले योगदान गर्दै आएको छ,’ उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिनेछ ।’
महोत्सव अवलोकन गर्न विद्यार्थीका लागि रु. ५० टिकटदर राखिएको छ भने सर्वसाधारणका लागि रु.१०० र फरक क्षमता भएका व्यक्तिहरुका लागि निःशुल्क रहने जनाइएको छ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था संघले जनाएको छ ।