धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी आदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको छ । हसनपुर पिपल चौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर साउँदको मृत्यु भएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउँदको शव सेती प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
उक्त घटनालाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए, भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए ।
उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरुलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरुको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा गर्दै उक्त समयमा ५ जनाभन्दा वढी व्यक्तिहरु आवत जावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ ।