हसुलिया । स्थानीय सरकारको नीति, नियम लैंगिक समानताका आधारमा बन्नु पर्ने एक कार्यक्रममा जोड दिइएको छ ।
कैलारी गाउँपालिकाको आयोजना र महिला कानून विकास मञ्चको सहकार्यमा बिहीबार हसुलियामा भएको कार्यक्रमका सहभागीले यस्तो जोड दिएका हुन । स्थानीय सरकारले बनाएको स्थानीय विपद् ऐन, कार्यविधि, समिति तथा अभ्यासको सन्दर्भमा लैंगिक तथा सामाजिक समावेशीकरण दृष्टिकोणबाट छलफल गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको अध्यक्षतामा भएको कार्यक्रममा कैलारी गाउँपालिकाले बनाएको स्थानीय विपद् व्यवस्थापन सम्बन्धी ऐन, कार्यविधिमाथि वरिष्ठ पत्रकार बबिता बस्नेतले टिप्पणी गरेकी थिइन् । सो क्रममा उनले स्थानीय सरकारले महिला, ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई नीति, निर्माण तहमै समावेश गर्न आवश्यक रहेको बताइन् । उनले विपद् व्यवस्थापन सम्बन्धी बनेको ऐन, कार्यविधिले लैंगिक तथा सामाजिक समावेशीकरणलाई जोड दिनु पर्ने उल्लेख गरिन ।
कार्यक्रममा गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद चौधरीले विपद् व्यवस्थापन ऐन, कार्यविधिमाथि आएको सुझावलाई कार्यपालिकाको बैठक र छलफलका लागि गाउँपालिकाको आगामी हिउँदे अधिवेशनमा पेस गरिने बताए ।
कार्यक्रममा कैलारी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी, एनएनडीएसडब्लुओका चक्र विक, समा श्रेष्ठ लगायतकाले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुखहरु, वडा अध्यक्ष, सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।